
महोत्तरीमा एक युवतीको ‘रहस्यमय’ मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका-२ पर्सा, निवासी २२ वर्षीय रञ्जिता मण्डलको बुधबार मृत्यु भएको हो ।
उनका माइती पक्षले रञ्जिताको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका-७ की रञ्जिताको गत फागुन १४ गते सम्सीका रमेश मण्डलसँग बिहे भएको थियो ।
बिहेपछि रमेशका परिवारले पटक-पटक दाइजो माग्दै दबाब दिएको रञ्जिताका भाइ निरज कुमारले बताए । ‘दाइजोमा पहिले भैंसी दिनु, अनि मात्र बुहारीलाई माइती आउन दिन्छौं’ भन्दै रञ्जितालाई बन्धकजस्तै बनाइएको निरजको आरोप छ ।
जेठ ५ गते मंगलबार राति १० बजेर १२ मिनेटमा परिवारका सदस्यले रञ्जितासँग कुरा गर्न फोन सम्पर्क गर्दा उनकी सासु सरस्वती देवीले ‘रन्जिता भाँडा माझ्दैछ’ भन्दै कुरा गर्न नदिएको निरजले बताए ।
तर, भोलिपल्ट बिहानै सरस्वती देवीले रञ्जिताको माइतीमा फोन गरेर ‘रञ्जिता बिरामी छ, अहिले अस्पतालमा उपचार भइरहेको छ, छिट्टै आउनुहोस्’ भनेर जानकारी गराएकी निरजले बताए ।

बिहान करिब ५ बजे महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल पुग्दा रञ्जितालाई चिकित्सकले मृत घोषित गरिसकेको अवस्थामा भेटिएको निरजको भनाइ छ ।
त्यसपछि शव आफूहरूले नै प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको जानकारी दिँदै उनले भने, ‘निष्पक्ष छानबिन र न्यायको प्रत्याभूति नभएसम्म हामी पोस्टमार्टम हुन दिँदैनौं ।’
रञ्जिताको मृत्यु प्राकृतिक नभई योजनाबद्ध हत्या भएको उनको आरोप छ ।
महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र कुमार भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । हाल मृतकका श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिइएको उनले बताए ।
‘अनुसन्धानका क्रममा घटनामा संलग्न देखिने जो-कोही भए पनि कानूनबमोजिम नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइन्छ । अहिले अनुसन्धान चलिरहेको छ’, डीएसपी भट्टले भने ।
परिवारले बुधबार नै जाहेरी दिएको र बिहीबार दर्ता गरि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।
-सत्य प्रकाश यादव/सर्लाही