
यसै महिना छिमेकी राष्ट्र भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ मा सहभागी हुने राष्ट्रिय टोलीलाई विदाइ गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री सस्मित पोखरेलले खेलाडीलाई सफलताको शुभकामना दिँदै विदाइ गरे ।
विदाइ समारोहमा मन्त्रालयका सल्लाहकार सिद्धी व्यञ्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिपका लागि अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरिएको छ । टोलीमा अञ्जना राना मगर, उषा नाथ, पूजा राना, गीता राना र विमला विक रहेका छन् ।
यसैगरी, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समिक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटी, दीपा शाही, प्रिती राई, सरु लिम्बु र बिर्सना चौधरीले पनि टोलीमा स्थान पाएका छन् ।
यसैगरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा पनि टोलीमा छन् ।
साफ च्याम्पियनसिपको आगामी संस्करण मे २५ देखि जुन ५ तारिखसम्म भारतको गोवामा आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।
नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । उक्त समूहमा श्रीलंका र भुटान पनि छन् । समूह ‘बी’मा भने भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल मे २५ तारिखमा भुटानसँग र दोस्रो खेल मे ३१ तारिखमा श्रीलंकासँग खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।