२५ जेठ २०८३, सोमबार

मुस्ताङबाट ५९० कार्टुन भेप समातिएको साता नबित्दै रसुवाबाट १२ सय २५ थान बरामद

जेठ ७, २०८३
काठमाडौं
मुस्ताङबाट ५९० कार्टुन भेप समातिएको साता नबित्दै रसुवाबाट १२ सय २५ थान बरामद

प्रहरीले रसुवाबाट ३६ लाख ७५ हजार रूपैयाँ बराबरका एक हजार दुई सय २५ वटा भेप (विद्युतीय चुरोट)सहित ८ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले बिहीबार अपरान्ह साढे एक बजे उक्त परिमाणको भेपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले गोसाइँकुण्ड गाउँपालिका–१ दालफेदीस्थित मम्माया तामाङको घरमा खानतलासी गरेको थियो ।

जाँचका क्रममा घरभित्र प्लाष्टिकको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा ६ वटा कार्टुनभित्र लुकाएर राखिएको एक हजार दुई सय २५ वटा भेप प्रहरीले फेला पारेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गोसाइँकुण्ड गाउँपालिका–१ का ४४ वर्षीया मम्माया, सोही ठाउँ बस्ने राजकुमार तामाङ, माया तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–३ का ४० वर्षीय केशबहादुर गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय सहिन गुरुङ, बाजुराको बुढीमालिका नगरपालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोट तादी गाउँपालिका–४ घर भई हाल काठमाडौं बालाजु बस्ने २७ वर्षीय सुवास तामाङ  र ओखलढुंगा भदौरे गाउँपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने २६ वर्षीय नेत्रबहादुर थापा मगर छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले भेप बरामदबारे थप अनुसन्धान भइरहेको बताए ।

जेठ १ गते मात्र मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ठूलो परिमाणमा चिनियाँ इलेक्ट्रिक चुरोट (भेप)सहित दुई वटा कन्टेनर नियन्त्रणमा लिइएको थियो ।

सशस्त्र प्रहरी बलका अनुसार जेठ १ गते राति कोरोला नाकाबाट काठमाडौंतर्फ आउँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरबाट ५ सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा धादिङ धुनीबेंसी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्