
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको पछिल्लो शृंखलामा नेपालले आज (शुक्रबार) आफ्नो अन्तिम खेल खेल्दैछ । नेपाली टोलीले अन्तिम खेलमा आज बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्न लागेको हो ।
खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरू हुनेछ । जारी शृंखलामा नेपाल र अमेरिकाका अतिरिक्त स्कटल्यान्ड पनि छ । नेपाली टोलीले अघिल्ला तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
आफ्नो पहिलो खेलमा नेपाली टोली स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा केवल दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो । अमेरिकाले भने तीनमध्ये दुई खेलमा हार र एक खेलमा जितको नतिजा निकालेको छ । अमेरिकाले अघिल्लो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।
यही शृंखलापछि नेपाल आठ टोली सहभागी लिग–२ प्रतियोगिता तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो शृंखला शुरू हुनुअघि नेपाल तालिकाको सातौँ स्थानमा थियो । शुक्रबारको खेलमा विजयी भए नेपाली टोलीले तालिकाको चौथो स्थानमा आसिन नेदरल्यान्ड्ससँगको दूरी घटाउने छ ।
२७ खेल खेलेको अमेरिका ३८ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । ३२ खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो र २८ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २८ अंक बटुलेको नेदरल्यान्ड्स चौथो र २७ खेलबाट २२ अंक हात पारेको नेपाल पाँचौँ स्थानमा आसिन छन् ।

यसैगरी, २८ खेलबाट २२ अंक बटुलेको नामिबिया छैटौँ, २४ खेलबाट २१ अंक हात पारेको क्यानडा सातौँ र २४ खेलबाट १४ अंक कमाएको यूएई आठौँ स्थानमा छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोली हालसम्म अमेरिकासँग पराजित भएको छैन ।
यो स्टेडियममा नेपाल र अमेरिका हालसम्म तीनपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भिडेका छन् । यसअघि खेलिएको तीनवटै खेलमा नेपालले अमेरिकालाई हराएको छ ।
नेपाल र अमेरिकाबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १२ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अमेरिकाले नेपाललाई हराएको छ ।
नेपालले भने पाँच खेलमा अमेरिकालाई पराजित गरेको छ । नेपाल र अमेरिकाबीचको एक खेल अनिर्णित सकिएको छ ।
लिग–२ प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ । छनोट चरण पार गर्दै तेस्रोपटक टी–२० विश्वकप खेलेको नेपालले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन ।