
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी खेलमा नेपालले भ्रमणकारी टोली अमेरिकालाई जितका लागि तीन सय १८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाएको हो । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर हो ।
नेपाली टोलीका लागि इशान पाण्डेले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ८४ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ८३ बलमा एक छक्का र आठ चौका हिर्काए ।
२८ वर्षीय इशानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बनाएको यो दोस्रो अर्धशतक हो । उनले जारी लिग–२ शृंखलाको स्कटल्यान्डविरुद्धको खेलमा पनि ५५ रन बनाएका थिए ।
इशानले यही लिग–२ शृंखलामार्फत् एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको केवल तेस्रो खेल हो ।
इशानले तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग एक सय १० रनको साझेदारी पनि गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले ।
२६ वर्षीय अनुभवी ब्याट्सम्यान दीपेन्द्रले ५९ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३६ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए ।
दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । यो ढाँचाको क्रिकेटमा उनले दुई वटा शतक पनि बनाएका छन् ।
दीपेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको भने यो २१औँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १२ वटा अर्धशतक बनाएका छन् ।
कप्तान रोहित केवल चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । २३ वर्षीय कप्तान रोहित ४६ रन बनाउँदै आउट भए । उनले ५९ बलमा एक छक्का र दुई चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान आसिफ शेख पनि सात रनका कारण अर्धशतक प्रहार गर्नबाट चुके । २४ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफले ५७ बलमा ६ चौका पनि हिर्काए ।
अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातमा २९ रन थपे । उनले ३९ बलमा पाँच चौका पनि प्रहार गरे । गुलसन झाले १२ बलमा एक छक्काको मद्दतले १५ रन जोडे ।
आरिफ शेखले पनि केवल १० बलमा दुई छक्काको अविजित १८ रन बटुले । सोमपाल कामीले पाँच रन जोडे । नन्दन यादव एक रन बनाउँदै आउट भए । अमेरिकी टोलीका बलर शुभम रञ्जनेले तीन विकेट लिए ।