
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग मिलेर काम गर्ने पक्षमा कांग्रेस रहेको बताएका छन् ।
सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो ।
सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै उनले संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले कांग्रेस एकढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गरे । उनले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताए ।