२७ जेठ २०८३, बुधबार

सलबलाए इरानी ह्याकर, तेल र ग्यास कम्पनीहरू मुख्य निसानामा

जेठ ९, २०८३
काठमाडौं
सलबलाए इरानी ह्याकर, तेल र ग्यास कम्पनीहरू मुख्य निसानामा

इरानी ह्याकरहरूले उड्डयन, तेल र ग्यास कम्पनीहरूलाई निसाना बनाउँदै व्यापक साइबर जासुसी अभियान चलाइरहेको खुलासा भएको छ। 

अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनावका बीच इरानी अपरेटिभहरूले रोजगारी दिने 'रिक्र्युटर'को भेषमा सफ्टवेयर इन्जिनियरहरूलाई लक्षित गरिरहेको साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले बताएका छन्।

अमेरिकी साइबर सुरक्षा फर्म पालो अल्टो नेटवर्कको युनिट ४२ का अनुसार ह्याकरहरूले इजरायल, संयुक्त अरब इमिरेट्स र अमेरिकाका उड्डयन तथा ऊर्जा क्षेत्रका संस्थाहरूमा घुसपैठ गर्ने प्रयास गरिरहेका छन्। 

उड्डयन र तेल कम्पनीहरूको सूचनामा पहुँच पाउँदा इरानले मध्यपूर्वको उडान विवरण (फ्लाइट म्यानिफेस्ट) ट्र्याक गर्ने र अमेरिकी तेल बजारको रणनीतिको गोप्य जानकारी संकलन गर्न सक्ने विज्ञहरूको विश्लेषण छ।

ह्याकरहरूले यस अभियानका लागि निकै चतुर तरिका अपनाएका छन्। उनीहरूले अमेरिकी एयरलाइन्स जस्ता प्रतिष्ठित कम्पनीहरूको नाममा नक्कली जागिरका विज्ञापनहरू खडा गरेका छन्। 

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी लेखिएका यी विज्ञापनहरू व्यावसायिक देखिने र आवेदकहरूलाई विश्वासमा लिन भिडियो कन्फरेन्सिङ सफ्टवेयरमार्फत सम्पर्क गर्ने गरिन्छ। उक्त सफ्टवेयरमा 'मालिसियस कोड' (हानिकारक प्रोग्राम) लुकाएर इन्जिनियरहरूको कम्प्युटर र कम्पनीको आन्तरिक नेटवर्कमा छिर्ने प्रयास गरिएको अनुसन्धानले देखाएको छ।
युनिट ४२ का अनुसन्धानकर्ताहरूले सीएनएनलाई दिएको जानकारीअनुसार ती ह्याकरहरूले अहिलेसम्म लक्षित तेल, ग्यास वा उड्डयन कम्पनीहरूको सुरक्षा प्रणाली सफलतापूर्वक तोड्न सकेका छैनन्। यद्यपि, विश्वव्यापी रूपमा सञ्चालित यस अभियानमा अन्य केही साना संस्थाहरू भने प्रभावित भएको हुनसक्ने आशङ्का गरिएको छ।

यसअघि पनि इरानी ह्याकरहरूमाथि अमेरिकाका ग्यास स्टेसनहरूमा साइबर आक्रमण गरेको आरोप लागेको थियो। 
 

salt training

कमेन्ट गर्नुहोस्