
रूपन्देहीका राजन शर्मा पौडेलले कृषि गरेर देशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–१ बेलबरियामा विगत डेढ दशकदेखि व्यावसायिक च्याउ खेती गर्दै आएका युवा उद्यमी राजनले आम्दानी र सफलता दुवै एकसाथ हात पारेका हुन् । टिम स्पिन्जर एग्रो प्रालिबाट उनी वार्षिक ६० लाख रूपैयाँको च्याउको कारोबार गर्न सफल भएका छन् । ‘साइन्स’ पढेका ३० वर्षीय राजनलाई कृषिमा लाग्न पारिवारिक वातावरणले प्रेरित गरेको थियो ।
उनको डेढ बिघा क्षेत्रफलमा लगाइएको च्याउले वर्षैभरि उत्पादन दिइरहेको छ । बजारमा अहिले च्याउ खाने संस्कार बढ्दा यसको माग पनि उच्च छ । ‘हामीले अहिले बजारमा दैनिक ४५० देखि ५०० केजीसम्म कन्ये, मिल्की, डल्लेलगायतका च्याउ पठाउँदै आएका छौँ,’ राजन भन्छन्, ‘योसँगै विगत ६ वर्षदेखि च्याउको बीउ पनि तयार गरी किसानलाई बिक्री गरिरहेका छौं । यसले गर्दा च्याउ खेती गर्ने किसानका लागि बीउ खोज्न अन्यत्र भौँतारिनु नपर्ने अवस्था सिर्जना गरेका छौं ।’ सुरुमा ६ वटा ‘बल’मा परीक्षणस्वरूप गरिएको च्याउ खेती राजनका बुबा गंगाधरले थालनी गरेका थिए ।
कृषि कर्ममा लाग्न पढेलेखेका युवालाई प्रोत्साहन गर्ने राजनको सफलताको ज्ञान र प्रेरणा लिन टिम स्पिन्जर एग्रो सिकाइको थलोका रूपमा विकास भएको छ । राजनको परिवार २०६५ सालमा बागलुङको हुग्दिशिरबाट बसाइँसराइ गरी रूपन्देही झरेर व्यावसायिक कृषिमा हात हालेको थियो । त्यतिबेला गंगाधरले च्याउ खेती सुरु गर्दा समाजले विश्वास गर्दैनथ्यो । अझ च्याउ खाएर ज्यान गएका घटना समाचारमा सुनेकाहरूले सफल नहुने अड्कल काट्थे । तर, ती सबै अवरोध र बाधालाई पन्छाएर राजन कृषिबाट माथि उठेका छन् ।
‘बुबाको मेहनत देखेपछि मैले पनि कृषि गर्नुपर्छ भनेर कृषि प्राविधिक पढेँ,’ राजन भन्छन्, ‘पढाइसँगै घरपरिवारलाई साथ र सहयोग गर्दै आफ्नो पढाइ पूरा गरी यही व्यवसायलाई आफ्नो भविष्य बनाउने निचोड निकालेको हुँ ।’ सुरुवाती दिनमा उत्पादन घरघरमा पुर्याएर बिक्री गर्न जाँदा नलिने समस्या पनि नदेखिएको होइन । तर, पछि धेरै उत्पादन हुन थालेपछि बजारले आफैँ उनीहरूलाई खोज्न थालेको राजनको भनाइ छ ।
तराईमा धान काटेर थन्काएपछि परालमा आगो लगाएर डढाउने गरिन्छ । त्यो देखेर राजनले डढाउने पराललाई कुनै उपयोगी काममा किन प्रयोग नगर्ने भन्ने सोचे । डढाउँदा वातावरणमा असर गरिरहेको हुन्छ । ‘लाइभस्टक’मा गए पनि पराल खपत गर्न सकिन्छ भन्ने नसोचेका होइनन् । फेरि सोचे, भैँसीभन्दा बरु च्याउ खेती गरे अझ बढी पराल खपत गर्न सकिन्छ । उत्पादनसँगै रोजगारी पनि सिर्जना हुने भयो भन्ने हिसाबले च्याउ खेती सुरुवात गरेको उनी विगत सम्झिन्छन् ।

च्याउका लागि पराललाई बफाएर प्लास्टिकको झोलामा खाँदी त्यसमा मात्रा मिलाएर बीउ छरिन्छ । २२–२५ डिग्री सेल्सियस तापक्रममा हावा नपस्ने गरी अँध्यारो कोठामा राखिएको प्लास्टिकको झोलालाई २०–२२ दिनपछि केही ठाउँमा प्वाल पारेर हल्का हावा पस्ने बनाएपछि च्याउ उम्रन थाल्छ । ‘एक किलोग्राम परालमा ८०० ग्रामदेखि १ किलोसम्म च्याउ उत्पादन हुन्छ । कहिलेकाहीँ प्लास्टिकको बलमा संक्रमण भएर च्याउ बिग्रने समस्या पनि देखिन्छ,’ राजनले भने ।
कृषिप्रधान देश भनिने नेपालमा ६५ प्रतिशत किसान रहे पनि किन आफ्नो उत्पादनले नपुगेर आयात गर्नुपर्ने अवस्था छ भन्ने प्रश्नले उनलाई घोत्ल्याइरहन्छ । ‘इजरायलका ३ प्रतिशत नागरिकले कृषि गरेर निर्यात गरेका छन् । हामी ६५ प्रतिशतले कृषि गर्दा किन आयात गर्नुपरेको छ ? आजको दिनमा हाम्रो देशमा सबैभन्दा धेरै सम्भावना कृषिमा छ । नेपालको कृषिमा बजारको समस्या होइन,’ उनी भन्छन्, ‘उत्पादन गरिसकेपछि बजारमा के हुन्छ भन्ने ज्ञान छैन, इनपुट, प्रोसेसिङ र आउटपुट कुराले अर्थ राख्छ । बजार ठूलो समस्या होइन । हामी बजारसम्म जान सकेका छैनौं । आज हाम्रो देशमा सम्भावना छ भने त्यो कृषिमै छ ।’
पहिलेपहिले च्याउलाई तरकारीका रूपमा मात्र प्रयोग गर्ने गरिन्थ्यो । च्याउ कहिलेकाहीँ खाने गरिन्थ्यो । आजभोलि सामान्य तरकारी मात्र होइन, ‘अकेजन’ (विशेष अवसर) का रूपमा पनि लिन थालिएको छ ।

घरमा पाहुना आउँदा माछामासु खाने गरिन्थ्यो भने, आजभोलि पाहुना आउँदा मसरुमका केही परिकार प्रयोग गर्न थालिएको छ । ‘होटलहरूमा मःम, पकौडा, चिल्ली बन्न थालेका छन्, च्याउलाई तरकारीका रूपमा मात्र होइन प्रोटिनको स्रोतका रूपमा पनि प्रयोग गर्न थालिएको छ,’ उनको भनाइ छ ।
उनी भन्छन्, ‘एथलेटिक्स, स्पोर्ट्स पर्सन र जिम गर्नेहरूले च्याउलाई प्रोटिनको स्रोतका रूपमा प्रयोग गर्छन् । माछामासु नखानेहरूका लागि मुख्य प्रोटिनको स्रोत र 'रोयल फुड' का रूपमा च्याउलाई प्रयोग गर्न थालिएको छ ।’
राजनले उत्पादन गर्ने कन्ये च्याउको बजार मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्म छ । यतिबेला राजन च्याउ खेतीका लागि प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा गएर प्रशिक्षणसमेत दिइरहेका हुन्छन् । नेपालमा कृषि, पर्यटन र पानीमा ठूलो सम्भावना रहेको बताउँदै राजन अबको युवा पुस्तालाई ती तीनमध्ये एउटा क्षेत्रमा काम गरेर देशमा उद्यमशीलता र रोजगारी सिर्जना गर्न सुझाउँछन् ।