२४ जेठ २०८३, आइतबार
युवा उद्यमी

च्याउ खेती गरेर वार्षिक ६० लाखको कारोबार

जेठ ९, २०८३
बुटवल
च्याउ खेती गरेर वार्षिक ६० लाखको कारोबार

रूपन्देहीका राजन शर्मा पौडेलले कृषि गरेर देशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–१ बेलबरियामा विगत डेढ दशकदेखि व्यावसायिक च्याउ खेती गर्दै आएका युवा उद्यमी राजनले आम्दानी र सफलता दुवै एकसाथ हात पारेका हुन् । टिम स्पिन्जर एग्रो प्रालिबाट उनी वार्षिक ६० लाख रूपैयाँको च्याउको कारोबार गर्न सफल भएका छन् । ‘साइन्स’ पढेका ३० वर्षीय राजनलाई कृषिमा लाग्न पारिवारिक वातावरणले प्रेरित गरेको थियो ।

उनको डेढ बिघा क्षेत्रफलमा लगाइएको च्याउले वर्षैभरि उत्पादन दिइरहेको छ । बजारमा अहिले च्याउ खाने संस्कार बढ्दा यसको माग पनि उच्च छ । ‘हामीले अहिले बजारमा दैनिक ४५० देखि ५०० केजीसम्म कन्ये, मिल्की, डल्लेलगायतका च्याउ पठाउँदै आएका छौँ,’ राजन भन्छन्, ‘योसँगै विगत ६ वर्षदेखि च्याउको बीउ पनि तयार गरी किसानलाई बिक्री गरिरहेका छौं । यसले गर्दा च्याउ खेती गर्ने किसानका लागि बीउ खोज्न अन्यत्र भौँतारिनु नपर्ने अवस्था सिर्जना गरेका छौं ।’ सुरुमा ६ वटा ‘बल’मा परीक्षणस्वरूप गरिएको च्याउ खेती राजनका बुबा गंगाधरले थालनी गरेका थिए ।

कृषि कर्ममा लाग्न पढेलेखेका युवालाई प्रोत्साहन गर्ने राजनको सफलताको ज्ञान र प्रेरणा लिन टिम स्पिन्जर एग्रो सिकाइको थलोका रूपमा विकास भएको छ । राजनको परिवार २०६५ सालमा बागलुङको हुग्दिशिरबाट बसाइँसराइ गरी रूपन्देही झरेर व्यावसायिक कृषिमा हात हालेको थियो । त्यतिबेला गंगाधरले च्याउ खेती सुरु गर्दा समाजले विश्वास गर्दैनथ्यो । अझ च्याउ खाएर ज्यान गएका घटना समाचारमा सुनेकाहरूले सफल नहुने अड्कल काट्थे । तर, ती सबै अवरोध र बाधालाई पन्छाएर राजन कृषिबाट माथि उठेका छन् ।

‘बुबाको मेहनत देखेपछि मैले पनि कृषि गर्नुपर्छ भनेर कृषि प्राविधिक पढेँ,’ राजन भन्छन्, ‘पढाइसँगै घरपरिवारलाई साथ र सहयोग गर्दै आफ्नो पढाइ पूरा गरी यही व्यवसायलाई आफ्नो भविष्य बनाउने निचोड निकालेको हुँ ।’ सुरुवाती दिनमा उत्पादन घरघरमा पुर्‍याएर बिक्री गर्न जाँदा नलिने समस्या पनि नदेखिएको होइन । तर, पछि धेरै उत्पादन हुन थालेपछि बजारले आफैँ उनीहरूलाई खोज्न थालेको राजनको भनाइ छ ।

तराईमा धान काटेर थन्काएपछि परालमा आगो लगाएर डढाउने गरिन्छ । त्यो देखेर राजनले डढाउने पराललाई कुनै उपयोगी काममा किन प्रयोग नगर्ने भन्ने सोचे । डढाउँदा वातावरणमा असर गरिरहेको हुन्छ । ‘लाइभस्टक’मा गए पनि पराल खपत गर्न सकिन्छ भन्ने नसोचेका होइनन् । फेरि सोचे, भैँसीभन्दा बरु च्याउ खेती गरे अझ बढी पराल खपत गर्न सकिन्छ । उत्पादनसँगै रोजगारी पनि सिर्जना हुने भयो भन्ने हिसाबले च्याउ खेती सुरुवात गरेको उनी विगत सम्झिन्छन् ।

null

च्याउका लागि पराललाई बफाएर प्लास्टिकको झोलामा खाँदी त्यसमा मात्रा मिलाएर बीउ छरिन्छ । २२–२५ डिग्री सेल्सियस तापक्रममा हावा नपस्ने गरी अँध्यारो कोठामा राखिएको प्लास्टिकको झोलालाई २०–२२ दिनपछि केही ठाउँमा प्वाल पारेर हल्का हावा पस्ने बनाएपछि च्याउ उम्रन थाल्छ । ‘एक किलोग्राम परालमा ८०० ग्रामदेखि १ किलोसम्म च्याउ उत्पादन हुन्छ । कहिलेकाहीँ प्लास्टिकको बलमा संक्रमण भएर च्याउ बिग्रने समस्या पनि देखिन्छ,’ राजनले भने ।

कृषिप्रधान देश भनिने नेपालमा ६५ प्रतिशत किसान रहे पनि किन आफ्नो उत्पादनले नपुगेर आयात गर्नुपर्ने अवस्था छ भन्ने प्रश्नले उनलाई घोत्ल्याइरहन्छ । ‘इजरायलका ३ प्रतिशत नागरिकले कृषि गरेर निर्यात गरेका छन् । हामी ६५ प्रतिशतले कृषि गर्दा किन आयात गर्नुपरेको छ ? आजको दिनमा हाम्रो देशमा सबैभन्दा धेरै सम्भावना कृषिमा छ । नेपालको कृषिमा बजारको समस्या होइन,’ उनी भन्छन्, ‘उत्पादन गरिसकेपछि बजारमा के हुन्छ भन्ने ज्ञान छैन, इनपुट, प्रोसेसिङ र आउटपुट कुराले अर्थ राख्छ । बजार ठूलो समस्या होइन । हामी बजारसम्म जान सकेका छैनौं । आज हाम्रो देशमा सम्भावना छ भने त्यो कृषिमै छ ।’

पहिलेपहिले च्याउलाई तरकारीका रूपमा मात्र प्रयोग गर्ने गरिन्थ्यो । च्याउ कहिलेकाहीँ खाने गरिन्थ्यो । आजभोलि सामान्य तरकारी मात्र होइन, ‘अकेजन’ (विशेष अवसर) का रूपमा पनि लिन थालिएको छ ।

null

घरमा पाहुना आउँदा माछामासु खाने गरिन्थ्यो भने, आजभोलि पाहुना आउँदा मसरुमका केही परिकार प्रयोग गर्न थालिएको छ । ‘होटलहरूमा मःम, पकौडा, चिल्ली बन्न थालेका छन्, च्याउलाई तरकारीका रूपमा मात्र होइन प्रोटिनको स्रोतका रूपमा पनि प्रयोग गर्न थालिएको छ,’ उनको भनाइ छ ।

उनी भन्छन्, ‘एथलेटिक्स, स्पोर्ट्स पर्सन र जिम गर्नेहरूले च्याउलाई प्रोटिनको स्रोतका रूपमा प्रयोग गर्छन् । माछामासु नखानेहरूका लागि मुख्य प्रोटिनको स्रोत र 'रोयल फुड' का रूपमा च्याउलाई प्रयोग गर्न थालिएको छ ।’

राजनले उत्पादन गर्ने कन्ये च्याउको बजार मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्म छ । यतिबेला राजन च्याउ खेतीका लागि प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा गएर प्रशिक्षणसमेत दिइरहेका हुन्छन् । नेपालमा कृषि, पर्यटन र पानीमा ठूलो सम्भावना रहेको बताउँदै राजन अबको युवा पुस्तालाई ती तीनमध्ये एउटा क्षेत्रमा काम गरेर देशमा उद्यमशीलता र रोजगारी सिर्जना गर्न सुझाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्