
साहित्यकार डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण (कभर) सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा भइरहेको नवौं नेपाली साहित्य सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो ।
आवरण सार्वजनिकपछि बोल्दै साहित्यकार डा. ऋषि बस्ताकोटीले भने, ‘जीवनभर प्राज्ञिक अध्ययन र अनुसन्धानका माध्यमबाट विश्वभर ख्याति प्राप्त गर्नुभएका डा. गिरीले नेपाली साहित्यमा प्रवेश गरेर सिर्जना गर्नुभएको यो उपन्यास अत्यन्तै उच्च कोटीको र पठनयोग्य हुने कुरामा म पूर्ण विश्वस्त छु ।’
आफ्नो कृतिको भावभूमिबारे प्रकाश पार्दै लेखक डा. चन्द्र गिरीले भने, ‘यो उपन्यास केवल एउटा कथा मात्र नभएर सुन्दर सपनाको खोजीमा हिँडिरहेका असङ्ख्य प्रवासीहरूको एउटा सजीव र करुण मानवीय दस्तावेज हो ।’

आवरण सार्वजनिक कार्यक्रममा नेपाली वाङ्मयका विशिष्ट स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियो । सम्मेलनका प्रमुख अतिथि डा. नवराज लम्साल, अन्तराष्ट्रिय नेपाल साहित्य समाज (अनेसास)का अध्यक्ष सर्बज्ञ वाग्ले, अनेसास ट्रस्टीका सभापति पदम विश्वकर्मा, मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिका, डा. ऋषि बस्ताकोटी, डा. शरद परासर, सुरेश कुमार भट्ट र गोविन्द अधिकारीको उपस्थिति थियो ।
बुकहिल प्रकाशनद्वारा जेठ महिनाको अन्तिम साता सार्वजनिक गर्न लागेको यस उपन्यासले वैदेशिक सपना, विस्थापन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको एउटा कठ्याङ्ग्रिँदो यथार्थलाई साहित्यिक रूप दिएको छ ।
सार्वजनिक गरिएको आवरणमा एक यात्री मरुभूमि र सिमाना पार गर्दै अनिश्चित गन्तव्यतर्फ अघि बढिरहेको दृश्य देखिन्छ, जसले ‘डङ्की रुट’मार्फत हुने जोखिमपूर्ण आप्रवासन यात्राको प्रतीकात्मक चित्रण गर्दछ ।
पुस्तकको कलात्मक कभर डिजाइन सचिन यगोल श्रेष्ठले तयार पारेका हुन् ।