
परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (ईयू) सदस्य राष्ट्रका राजदूतहरूको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको हवाई क्षेत्रलाई ईयूको उडान सुरक्षा सूची (कालोसूची)बाट हटाउने प्रक्रियामा सहयोग आग्रह गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै कालोसूचीबाट हटाउन आग्रह गरेका हुन् ।
यस्तै, मन्त्री खनालले नेपालसँग युरोपेली संघले निरन्तर गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा तथा जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा सहकार्य थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारविरुद्धको कडा अडानलाई सुशासनका दुई प्रमुख आधारस्तम्भका रूपमा उल्लेख गर्दै उनले तीव्र आर्थिक वृद्धिलाई सरकारको मुख्य प्राथमिकतामध्ये एक भएको बताए।
भेटमा भ्रमण टोलीको तर्फबाट नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्नु भ्रमणको उद्देश्य रहेको बताइन् ।
साथै, ई–शासन र डिजिटलाइजेशनमा ईयूको अनुभव आदानप्रदानसहित नेपाल र ईयू सदस्य राष्ट्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने विषयबारे पनि उनले जानकारी गराएकी मन्त्रालयले जनाएको छ ।
Joint Call on Hon. Foreign Minister
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 25, 2026
Ambassadors of the EU Member States based in Kathmandu and New Delhi paid a joint call on Minister for Foreign Affairs Hon. Mr Shisir Khanal at the Ministry today.
On the occasion, Minister Khanal appreciated the European Union’s continued… pic.twitter.com/vwtJXeFFYG