
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गरी धरपकडको प्रयास, निगरानी र धम्की दिइएको भन्दै विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाएका छन्।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेका गतिविधिहरूले स्वतन्त्र प्रेस र लोकतन्त्रमाथि नै प्रहार गरेको उल्लेख गरेका छन्।
००००
भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो ।
००००
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चारवटा समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
सरकारले २०८० पुस १९ गते समस्याग्रस्त घोषणा गरेका घेदङु, तपाई हाम्रो, नागरिक कल्याण र आईडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।
यसैगरी समितिको कार्यालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली पनि सार्वजनिक गरेको छ।
००००
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्यमा वृद्धि गरेको छ। सोमबार बसेको बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य कायम गर्ने निर्णय गरेको हो।
चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्य सूची अनुसार मंगलबारखि एक्सएल साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५४५ रुपैयाँ पुगेको छ। यसअघि जेष्ठ ४ गतेदेखि लागू भएको दरमा यसको मूल्य ५३० रुपैयाँ थियो। त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीहरू (पुरुष र महिला दुवै)को नयाँ वर्गीकरण गरेको छ । क्यानले ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको हो ।
पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन् ।
‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा रहेका क्यानले जनाएको छ । यसैगरी, ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह छन् ।
००००
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीकै आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । यससँगै देउवा दम्पतीलाई राहत मिलेको छ । हाल विदेशमा रहेका देउवा दम्पतीलाई रेडकर्नर जारी गर्न समेत अस्वीकृत भएको खबर छ ।
००००
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकता कायम गर्दै १५ औं महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउन भन्दै पाँचबुँदे प्रस्ताव अघि सारेका छन् ।
कोइरालाले क्रियाशील सदस्यता, केन्द्रीय कार्यसमिति समायोजनदेखि विभिन्न समितिको गठनसम्मका विषयमा साझा समझदारी कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
उनले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्नुपर्ने प्रस्ताव गरेका छन् । साथै, १४ औं महाधिवेशनपछि नवीकरण र वितरण भएका क्रियाशील सदस्यताकै आधारमा १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको धारणा छ ।
००००
नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको काम यही जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा सोमबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले महाधिवेशन केन्द्रित सदस्यता अभियानलाई समयसीमाभित्र टुंग्याउने निर्णय गरेको हो । बैठक समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको थियो ।
००००
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोमबार अभियोगपत्र दर्ता भएको हो ।
‘गोला तानिसकेपछि दिउँसो मात्र अभियोगपत्र आएकाले अब मंगलबार मात्र त्यसमाथि सुनुवाइ हुनेछ,’ यादवले लोकान्तरसँग भने ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा दायर भएको यादवले खुलाए ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन् ।
यही जेठ १५ गते हुने समारोहलाई सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेललाई पत्राचार गरेका हुन् । राष्ट्रपतिलाई सम्बोधन गर्ने अनुरोध गर्ने विषयमा मन्त्रिपरिषद् बैठकबाटै निर्णय भएको बताइएको छ ।
००००
मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेको आरोप लागेकी ज्योति गुरुङका नाममा ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ।
नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी समेत रहेकी ज्योतिलाई सबुत प्रमाणसहित अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न निर्देशन दिइएको हो।