
भारतको कर्नाटकका पूर्वफास्ट बलर एसएल अक्षयको हृदयघातका कारण निधन भएको छ । उनी ३९ वर्षका थिए । उनी २०१४-१५ सिजनमा रणजी ट्रफी जित्ने कर्नाटक टोलीको हिस्सा थिए ।
अक्षय बेंगलुरुमा भएको केएससीए तेस्रो डिभिजन खेलमा सफायर सीसीको लागि खेलिरहेका थिए। चार ओभर बलिङ गरेपछि उनले अस्वस्थ महसुस गरेको गुनासो गरे र मैदान छोडे।
उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेको दैनिक भास्करले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हुन सक्छ।
उनले २०११-१२ मा कर्नाटकको लागि खेल्दा उल्लेखनीय सफलता हासिल गरेका थिए । क्रिकेटबाट सन्यास लिएपछि अक्षय कोचिङमा सामेल भए । उनी कर्नाटक अन्डर-१९ टोलीसँग काम गरिरहेका थिए।
उनले २०११ देखि २०१३ सम्म कर्नाटकको लागि छ प्रथम श्रेणी, तीन लिस्ट ए र नौ टी-२० खेल खेलेका थिए ।