
विश्व फुटबलमा स्पेन र रियल मड्रिड एक–अर्काका पर्यायजस्तै हुन् । तर, आगामी फिफा विश्वकपका लागि घोषित स्पेनको २६ सदस्यीय टोलीले फुटबल प्रेमीहरूलाई आश्चर्यमा पारेको छ ।
विश्वकपको इतिहासमा पहिलोपटक स्पेनको राष्ट्रिय टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी अटाएका छैनन् । यो निर्णयले फुटबल जगतमा बहस सिर्जना गरे पनि मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टले भने आफ्नो अडान प्रष्ट पारेका छन् ।
‘म कुनै क्लब वा स्थानीय आग्रह–पूर्वाग्रहबाट प्रभावित छैन । मेरो दृष्टिकोण विश्वव्यापी छ,’ टोली घोषणापछि प्रशिक्षक फुएन्टले भनेका छन्, ‘मेरो एउटै चाहना भनेको टोलीमा रहेका प्रत्येक खेलाडीले राष्ट्रिय जर्सीको प्रतिनिधित्व गर्दा गर्व महसुस गरुन् ।’
टोलीमा केही चर्चित तर, घाइते खेलाडीको उपस्थिति अर्को चर्चाको विषय बनेको छ । बार्सिलोनाका १८ वर्षीय स्टार लामिन यामल पनि यसको उदाहरण हुन् ।
यामल गत अप्रिल २२ तारिखमा ‘ह्यामस्ट्रिङ’को चोटका कारण सिजनको अन्तिम महिना थुप्रै खेल गुमाउन बाध्य भएका थिए । उनलाई पनि स्पेनिस टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त, एथलेटिक बिल्बाओका विंगर निको विलियम्स पनि चोटका बाबजुद टोलीमा परेका छन् ।
प्रशिक्षक फुएन्ट भने खेलाडीहरूको स्वास्थ्यस्थितिलाई लिएर ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘हामी निकै सचेत छौँ । कुनै ठूलो समस्या नआए हाम्रा सबै खेलाडी विश्वकपको पहिलो खेलबाटै मैदानमा ओर्लन तयार हुनेछन् ।’
यसपटक स्पेनिस टोलीमा इङ्लिस प्रिमियर लिगको प्रभाव प्रस्ट देखिन्छ । आर्सनलका मिडफिल्डर मिकेल मेरिनो पनि यसैको उदाहरण हुन् । उनी चार महिनाको चोटपछि पुनरागमन गर्दै स्पेनिस टोलीमा परेका हुन् ।
यसैगरी, मेरिनोसँगै डेभिड राया, मार्टिन जुबिमेन्डी, पेड्रो पोरो, मार्क कुकुरेला, रोड्री र एरेमी पिनोगरी सात खेलाडी प्रिमियर लिग क्लबबाट स्पेनको विश्वकप टोलीमा परेका छन् ।
बार्सिलोना र एथलेटिको मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका एरिक गार्सिया र मार्क पुबिलले पनि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अर्कोतर्फ, बार्सिलोनाका फर्मिन लोपेज भने खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका छन् ।
यो सिजनमा कुनै पनि ट्रफी जित्न नसकेको र ला लिगा विजेता बार्सिलोनाभन्दा आठ अंकले पछि परेको रियल मड्रिडका डिफेन्डरहरू डीन हुइजसेन र ड्यानी कार्भाजलले समेत स्पेनको विश्वकप टोलीमा स्थान बनाउन सकेनन् ।
आगामी विश्वकपमा स्पेन समूह ‘एच’ मा परेको छ । स्पेनले जुन १५ तारिखमा ‘डेब्यू’ गरिरहेको टोली केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि स्पेनले जुन २१ तारिखमा साउदी अरेबिया र २६ तारिखमा उरुग्वेको सामना गर्नेछ ।
‘उत्साह र जिद्धी नै हाम्रो मुख्य यतियार हो,’ प्रशिक्षक फुएन्ट भन्छन्, ‘स्पेनका बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको साथ राष्ट्रिय टोलीसँग छ । हामी यही ऊर्जाका साथ मैदानमा ओर्लनेछौँ ।’
के रियल मड्रिडका खेलाडीबिनाको यो नयाँ र युवा स्पेनिस टोलीले विश्वकपमा ऐतिहासिक छाप छाड्न सक्ला ? यो प्रश्नको जवाफ भने आगामी जुन महिनाले दिनेछ ।
स्पेनको विश्वकप टोलीमा गोलरक्षकको भूमिकामा उनाई सिमोन, डेभिड राया र जोन गार्सिया रहेका छन् । डिफेन्डरमा मार्कोस लोरेन्ट, मार्क पुबिल, पेड्रो पोरो, एमरिक लापोर्ट, एरिक गार्सिया, पाउ कुबार्सी, मार्क कुकुरेला र अलेज्यान्द्रो ग्रिमाल्डो छन् ।
यसैगरी, मिडफिल्डरमा रोड्री, मार्टिन जुबिमेन्डी, मिकेल मेरिनो, पेड्री, गाभी, फबियन रुइज र एलेक्स बाएना रहेका छन् । फरवार्डमा एरेमी पिनो, भिक्टर मुनोज, मिकेल ओयार्जाबल, फेरान टोरेस, लामिन यामल, ड्यानी ओल्मो, निको विलियम्स र बोर्जा इग्लेसियस छन् ।