
नेपालमा विकासका समसामयिक मुद्दाहरू विषयक दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका ग्रामीण विकास विभागको सहकार्यमा त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागले सम्मेलनको आयोजना गरेको हो ।
त्रिविको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुरमा यही जेठ १० गते आइतबार र ११ गते सोमबार भएको उक्त सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धानपत्रमाथि विमर्श भएको थियो ।
सम्मेलनको समापन गर्दै त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबिनन्द ढकालले यस्ता सम्मेलनले ज्ञान निर्माणमा योगदान गर्ने भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा कि नोट स्पिकर प्रा.डा. प्रेमसागर चापागाईंले विश्वव्यापीकरण, पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतीकरण गर्दै विकासमा यो विषयलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिए ।
सम्मेलनको दोस्रो दिन आयोजित प्यानल छलफलमा पूर्वराजदूत तथा विभागका संस्थापक प्रा.डा. महेन्द्रप्रसाद सिंह, सिनासका कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्की र पाटक संयुक्त क्याम्पसका उपप्रा. डा. नीति अर्यालले ग्रामीण विकासको नेपाली मोडल बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्नेमा जोड दिए ।
छलफलको सहजीकरण गर्दै विभागीय प्रमुख सहप्रा. डा. सुमन खरेलले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सके पनि रोजगारी सुनिश्चित गर्न सक्ने अवस्था नरहेको र आर्थिक पक्ष राज्यसँग जोडिएको हुँदा बजारको माग अनुरूप रोजगारी सिर्जनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
कार्यक्रममा डा. सुमन खरेल, डा. सुस्मिता गौतम, डा. रमेश न्यौपाने, डा. महेन्द्र सापकोटा, डा. प्रज्वलमान प्रधान र मीनबहादुर शाही, भवदत्त सापकोटा, नोदनाथ त्रिताल र लक्ष्मण कार्की, भुपेन्द्रबहादुर शाही, रेवनकुमार दाहाल, लिलाप्रसाद लिम्बु, सुभाष झा, नवराज भट्टराई, नरकुमार चौहान, चिरञ्जवी देवकोटा, हेमन्तराज अधिकारी, राजुराम अधिकारी, गोपाल खड्का, विद्याज्योती घिमिरे, दिपकचन्द्र दत्त, इन्द्रमाली मालाकार, राजनविनायक पासा, रमेशकुमार लामा, सुवोध निरौला, केन्द्रप्रकाश खत्री, तीर्थराज तिम्सिना र निराजन रिजाललगायतले प्रस्तुत गरेका २० वटा कार्यपत्र तथा अनुसन्धानपत्रमाथि छलफल भएको थियो ।
सम्मेलनमा विभागमा अध्ययनरत विद्यार्थी, शोधार्थी, प्राध्यापक, कर्मचारीलगायतको सहभागिता रहेको थियो । ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख सहप्रा. डा. सुमन खरेलले सम्मेलनमा देखिएको उत्साह र सबैको सहयोगले भावी दिनमा पनि यसप्रकारका विकासका बहसहरू आयोजना गर्न हौसला मिलेको बताए ।