
भारत सरकारले नेपालको कानून कार्यान्वयन गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कैदी बोक्ने १० वटा ट्रक उपहार स्वरूप प्रदान गरेको छ।
मंगलबार वीरगञ्जमा आयोजित एक विशेष समारोहका बीच भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरे ।
सवारी साधन ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले भारत सरकारको यो सहयोगप्रति आभार व्यक्त गरे । उनले दुई देशबीचको यो सहकार्य व्यापक र पारस्परिक रूपमा लाभदायक रहेको उल्लेख गर्दै यसले नेपालको सुरक्षा व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

भारत सरकारले नेपालको सुरक्षा र निर्वाचन व्यवस्थापनमा लामो समयदेखि सहयोग गर्दै आएको छ। यसै वर्षको सुरुमा, ५ मार्च २०२६ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा भारतले एसयूभी, पिकअप र ट्रकसहित करिब ६४० वटा सवारी साधन उपहार स्वरूप उपलब्ध गराएको थियो।
त्यसैगरी, विगतका वर्षहरूमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई गरी २ हजारभन्दा बढी सवारी साधनहरू प्रदान गरिसकिएको छ।
यस किसिमको निरन्तर सहयोगले नेपाल र भारतका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतिबिम्बित गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।