०१ असार २०८३, सोमबार

मनसुनी विपद्‌मा खोज/उद्धार गर्न १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

जेठ १३, २०८३
काठमाडौं
मनसुनी विपद्‌मा खोज/उद्धार गर्न १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फाइल तस्वीर

नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन् । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार मनसुनी विपद्मा हुने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत तयार पारी लागू भइसकेको छ । 

उनका अनुसार मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको छ । 

उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि तयार पारिएका जनशक्ति हुन् । यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्तिहरु परिचालन हुने जनाइएको छ । 

प्राधिकरणले यसपालि मनसुनजन्य विपद्बाट देशभर ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको र सोही आधारमा प्रभावितको सङ्ख्या अनुमान गरिएको प्रवक्ता महतले बताउनुभयो । तर, कम पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्