
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आयोजित ‘सगरमाथा समिटर्स समिट–२०२६’लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् ।
'सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ,' उनले भने ।
राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या अहिले चुनौती बनेको बताए । 'यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो,' राष्ट्रपति पौडेलले भने ।