
भारत सरकारको सहयोगमा नेपालका आठ जिल्लामा थप १४ वटा विद्यालय भवन निर्माण हुने भएका छन्।
यी विद्यालयहरूको निर्माणका लागि ठेकेदारहरू र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच निर्माण सम्झौता सम्पन्न भएको छ।
भारतीय राजदूतावासका अनुसार यो भूकम्पपछिको पुनर्निर्माण सहायतासम्बन्धी यो परियोजना नेरु. ५६ करोड २ लाख अनुदान सहयोगमा सञ्चालन हुन लागेको हो। सम्झौता पत्रमा हस्ताक्षर भएसँगै गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा विद्यालय भवन निर्माणको प्रक्रिया अघि बढेको छ।
निर्माण सम्झौता कार्यक्रममा भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक लगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।
यी विद्यालयहरू नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन्। नयाँ पूर्वाधारमा शैक्षिक भवन, फर्निचर सहितका आधुनिक कक्षाकोठाहरुका साथै छात्र र छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना (शौचालय) समेत निर्माण गरिने दूतावासको विज्ञप्तिमा उल्लेख छ।
भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत यसअघि नै ८ जिल्लाका ७० वटा विद्यालयहरू र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भइसकेको छ। ती संरचनाहरू सन् २०२४ को जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
भूकम्पपछिको पुनर्निर्माण मात्र नभई नेपालको समग्र सामाजिक-आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको राजदूतावासले जनाएको छ।