
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान, मधेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राति बागमती, गण्डकी, लुम्बिनीका केही स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।