
अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोले भर्जिनियास्थित डेभिड रसको घरमा छापा मार्दा ४ करोड डलर (करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ) भन्दा बढी मूल्यको सुनका बिस्कुटहरू फेला पारेको हो ।
एफबीआईका अनुसार रसको घरबाट ३०३ वटा सुनका बिस्कुट बरामद गरिएको छ । जसमध्ये प्रत्येकको तौल करिब एक किलो छ । सुनका साथै उनको घरबाट २० लाख डलर नगद र ३५ वटा महँगा रोलेक्स घडीहरू समेत जफत गरिएको छ ।
अदालती दस्ताबेजका अनुसार रसले सन् २०२५ नोभेम्बरदेखि २०२६ मार्चको बीचमा 'कामको सिलसिलामा हुने खर्च' भन्दै सरकारसँग ठूलो परिमाणमा सुन र विदेशी मुद्रा माग गरेका थिए । तर, पछि सीआईएले ती सुन र मुद्राको हिसाब र अवस्था फेला पार्न सकेन ।
सीआईएका निर्देशक जोन र्याटक्लिफले आन्तरिक अनुसन्धानपछि कानुनी कारबाहीका लागि एफबीआईलाई सिफारिस गरेपछि मे १९ मा उनलाई पक्राउ गरिएको हो ।
डेभिड रसमाथि 'सार्वजनिक धनको आपराधिक चोरी' गरेको अभियोग लगाइएको छ । उनीसँग अति गोप्य सूचनाहरूमा पहुँच थियो । यसका साथै उनले सरकारी जागिर खानका लागि आफ्नो शिक्षा र सैन्य सेवाका बारेमा झूटो विवरण दिएको र नक्कली सैन्य बिदा मिलाएर हजारौँ डलर भत्ता लिएको समेत आरोप लागेको छ ।
हाल रसलाई हिरासतमा राखिएको छ र यसै साता उनको अदालतमा सुनुवाइ हुने तय भएको छ ।