
काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको नयाँ समानान्तर ट्याक्सीवे सञ्चालनमा ल्याइएको छ ।
नयाँ ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले संयुक्त रूपमा उक्त ट्याक्सीवेहरूको उद्घाटन गरेका हुन् ।
नयाँ ट्याक्सीवे प्रणाली सञ्चालनमा आएपछि विमानको ग्राउण्ड मुभमेन्ट थप व्यवस्थित, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसबाट रनवे अकुपेन्सी समय घट्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता अभिवृद्धि हुने विश्वास गरिएको छ ।
उक्त परियोजना हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा मन्त्रालय, प्राधिकरण, विमानस्थल कार्यालय, एयरलाइन्स तथा परियोजनासँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।