परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।
'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' (२०७९ सम्मको संशोधन सहित) को आधारमा मन्त्रालयले बिहीबार विस्तृत कार्यविवरण सार्वजनिक गर्दै दरखास्त मागेको हो।
मन्त्रालयद्वारा जारी सूचना अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेणी सरहको हुनेछ र यसको कार्यकाल कार्यभार सम्हालेको मितिबाट बढीमा चार वर्षको रहनेछ। इच्छुक उम्मेदवारहरूले सन् २०२६ जुन ५ तारिख साँझ ५ बजेसम्म आफ्नो व्यक्तिगत विवरण सहित मन्त्रालयमा आवेदन दिन सक्नेछन्।
राजदूत पदका लागि उम्मेदवार कम्तीमा ३५ वर्ष पुरा भएको र मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
साथै, उम्मेदवारसँग नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्ने र अङ्ग्रेजी भाषामा राम्रो दख्खल हुनुपर्ने अनिवार्य गरिएको छ।
विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर वा डीभी) नलिएका, कुनै पनि भ्रष्टाचार वा फौजदारी कसुरमा सजाय नपाएका र उच्च नैतिक चरित्र भएका व्यक्तिहरू मात्र यस पदका लागि योग्य हुने मन्त्रालयले स्पष्ट पारेको छ।
राजदूत छनोट प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयले आठ चरणको प्रक्रिया तय गरेको छ। जसमा सुरुवाती आवेदनको छनोट, मन्त्रिपरिषद्द्वारा नाम सिफारिस, संसदीय सुनुवाइ, सम्बन्धित देशबाट एग्रिमो (सहमति) प्राप्ति र अन्त्यमा राष्ट्रपतिद्वारा नियुक्ति हुने व्यवस्था छ। नियुक्त राजदूतले कार्यभार सम्हाल्नुअघि प्रधानमन्त्री समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ।
यो नयाँ मापदण्डले राजदूत नियुक्ति प्रक्रियालाई थप पारदर्शी र योग्यतामा आधारित बनाउने विश्वास गरिएको मन्त्रालयले जनाएको छ ।