
सरकारले खेल विकासलाई युवा र स्थानीय विकाससँग जोड्दै आगामी तीन वर्षभित्र कम्तिमा आठ हजार दर्शक क्षमताको १० वटा फुटबल रंगशालालाई ‘फ्लड–लाइट’सहितको स्तरोन्नति गर्ने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमा प्रमुख आठवटा सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने उल्लेख छ ।
यसैगरी, विराटनगर, लहान, काठमाडौं, पोखरा, बटुवल, सुर्खेत र धनगढीको फाफ्लामा आगामी तीन वर्षभित्र कम्तिमा दुई हजार दर्शक क्षमताको इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने छ ।
यसैगरी, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशाला र कैलालीको फाफ्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने छ ।
यसैगरी, खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनोट गरी आवासिय सुविधासहित तालिमको व्यवस्था मिलाइने छ ।
यसैगरी, अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजिवन नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने छ ।
यसैगरी, सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले खेलकुद क्षेत्रमा चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।