२५ जेठ २०८३, सोमबार
२२१ रनको प्रभावशाली जित

एसियन गेम्स छनोट क्रिकेट : चीनमाथि नेपालको फराकिलो जित

जेठ १७, २०८३
काठमाडौं
एसियन गेम्स छनोट क्रिकेट : चीनमाथि नेपालको फराकिलो जित

एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत नेपालले चीनमाथि एकपक्षीय प्रदर्शन गर्दै फराकिलो जित हात पारेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा चीन १९.२ ओभरमा ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको प्रभावशाली जित दर्ता गर्‍यो । 

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीनको ब्याटिङ शुरूदेखि नै दबाबमा रह्यो । चीनका लागि झेङ सेन्जियानले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् । जियानहाओ डुले १७ तथा कप्तान तियान सेङुनले १२ रन जोडे ।

नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै नियमित अन्तरालमा विकेट झारे । सोमपाल कामीले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २ विकेट हात पारे भने नन्दन यादवले पनि २ ओभरमा १ विकेट लिए ।

यसैगरी, कुशल मल्लाले घातक बलिङ गर्दै मात्र १.२ ओभरमा कुनै रन नदिई ३ विकेट लिए । उनले चेन झुओयुए, झिलोङ झाओ र देङ जिनछीलाई आउट गर्दै चीनको मध्यक्रम ध्वस्त पारे । दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि किफायती बलिङ गरे ।

चीनका दुई ब्याटर मात्र दोहोरो अंकमा पुग्न सके । अतिरिक्तबाट चीनले १६ रन प्राप्त गरेको थियो ।

यसअघि नेपालका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै २० ओभरमा ३१३ रनको विशाल स्कोर बनाएका थिए । 

नेपालका लागि कुशल भुर्तेलले १२९ रनको इनिङ खेले । उनले ४३ बलमा १६ छक्का र पाँच चौका प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो । 

भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

योसँगै कुशल टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।

यस्तै, कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।  आसिफ शेखले ११ रन जोडे । 

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्