२५ जेठ २०८३, सोमबार

हर्मुज क्षेत्रमा अमेरिका-इरानबीच फेरि सैन्य तनाव, दुवै पक्षले आक्रमण गरेको दाबी

जेठ १८, २०८३
काठमाडौं
हर्मुज क्षेत्रमा अमेरिका-इरानबीच फेरि सैन्य तनाव, दुवै पक्षले आक्रमण गरेको दाबी

फारसको खाडीस्थित हर्मुज जलडमरू आसपास अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएको छ । 

अमेरिका र इरान दुवैले एकअर्काका सैन्य लक्ष्यविरुद्ध आक्रमण गरेको दाबी गरेका छन् । एक साताभित्र भएको यो तेस्रो ठूलो तनावपूर्ण घटनाक्रम रहेको बीबीसीले जनाएको छ । 

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले सप्ताहन्तमा इरानका सैन्य संरचनामाथि ‘आत्मरक्षाका लागि’ आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडिरहेको अमेरिकी ड्रोन इरानले खसालेपछि जवाफी कदमस्वरूप इरानी सैन्य अखडा लक्षित गरिएको हो ।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले दक्षिणी इरानमाथि आक्रमण गर्न प्रयोग गरिएको अमेरिकी सैन्य हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ । यद्यपि उक्त हवाई अड्डा कहाँ रहेको हो भन्ने विवरण इरानले सार्वजनिक गरेको छैन ।

यो घटनाक्रम अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न भइरहेको वार्ता अपेक्षित रूपमा अघि बढ्न नसकेको पृष्ठभूमिमा भएको हो । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सम्झौताका केही प्रावधान परिवर्तन गर्न आग्रह गरेको जनाएका छन् ।

अमेरिकी समाचार संस्था सीबीएस न्यूजका अनुसार प्रस्तावित संशोधन हर्मुज जलडमरूमा जहाज आवागमन पुनः सञ्चालन गर्ने विषय तथा उच्च स्तरमा संवर्द्धित युरेनियम हटाउने विषयसँग सम्बन्धित छन् । यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।

इरानका मुख्य वार्ताकारले आइतबार तेहरानका अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका थिए ।

अमेरिकी सेनाका अनुसार शनिबार र आइतबार इरानको गोरुक क्षेत्र तथा केश्म टापुमा रहेका राडार प्रणाली, ड्रोन नियन्त्रण केन्द्र र अन्य सैन्य संरचनामाथि आक्रमण गरिएको थियो । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूका लागि खतरा बनेका दुई ड्रोन, एक भू–नियन्त्रण केन्द्र तथा हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको उल्लेख छ ।

आक्रमणमा कुनै अमेरिकी सैनिक घाइते नभएको सेन्टकमले जनाएको छ ।

इरानी पक्षले भने खाडीस्थित सिर्री टापुमा रहेको आफ्नो सञ्चार टावरमाथि अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप अमेरिकी सेनाले प्रयोग गरेको हवाई अड्डालाई निशाना बनाएको जनाएको छ । सिर्री टापु इरानको दक्षिणी तटबाट करिब ६५ किलोमिटर टाढा अवस्थित छ ।

आईआरजीसीले अमेरिकी आक्रमण दोहोरिएमा आफ्नो प्रतिक्रिया ‘पूर्ण रूपमा फरक’ हुने चेतावनी समेत दिएको छ । इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सैन्य नेतृत्वले आवश्यक परे अझ कडा कदम चाल्ने संकेत दिएको हो ।

यसैबीच, कुवेतको सेनाले सोमबार आफ्नो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेर ‘शत्रुतापूर्ण मिसाइल र ड्रोन आक्रमण’ सामना गरिरहेको जनाएको छ । तर ती आक्रमण कहाँ अवरुद्ध गरिएका हुन् भन्ने खुलाइएको छैन ।

गत साता पनि इरानले कुवेतस्थित एक हवाई अड्डालाई निशाना बनाएको थियो । इरानका अनुसार जहाज आवागमन मार्ग वरिपरि बारुदी सुरुङ बिछ्याउने तथा क्षेप्यास्त्र आक्रमण रोक्ने उद्देश्यले अमेरिकाले गरेको हवाई कारबाहीको जवाफस्वरूप उक्त आक्रमण गरिएको थियो ।

गत वैशाख ८ गते युद्धविराम लागू भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इरान स्थायी शान्ति सम्झौताको नजिक पुगेको दाबी गर्दै आएका छन् । यद्यपि हालसम्म कुनै औपचारिक सम्झौता हुन सकेको छैन ।

युद्धविराम थप गर्ने रूपरेखाबारे निर्णय गर्न ट्रम्प र उनका वरिष्ठ सहयोगीबीच शुक्रबार बैठक बसेको थियो । तर बैठकले स्पष्ट निष्कर्ष निकाल्न नसकेको र त्यसपछि ट्रम्पले सम्झौताको मस्यौदामा संशोधन गर्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

सीबीएस न्यूजका अनुसार नयाँ प्रस्तावमा ६० दिनसम्म हिंसा रोक्ने, हर्मुज जलडमरू पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे पुनः वार्ता सुरु गर्ने रूपरेखा समावेश छ ।

विश्वको करिब पाँचौं भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले हर्मुज जलडमरूमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा दबाब बढाइरहेको छ । व्यापारिक गतिविधि प्रभावित हुँदा विश्वभर इन्धनको मूल्यमा समेत असर परिरहेको विश्लेषकहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्