
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेकाहरूलाई समय र परिस्थिति सधैँ एकैनासको नरहने भन्दै उत्ताउलिएर अगाडि नबढ्न कडा चेतावनी दिएका छन् ।
पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका तर्फबाट कसैलाई त्यसै मुद्दा लगाउने र अपराध गर्नेहरूलाई भने केही नगर्ने विभेदकारी काम भइरहेको आरोप लगाए।
'राज्य संयन्त्रमा रहेकालाई भन्न चाहन्छु- समय परिस्थिति एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,' अध्यक्ष ओलीले भने।
राज्य शक्तिमा रहेकाहरूले शक्तिको उन्माद देखाउन नहुने भन्दै उनले विधिको शासनको खिल्ली नउडाउन आग्रह गरे।
विगतको राजनीतिक घटनाक्रमको स्मरण गर्दै अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा एमालेविरुद्ध तीव्र प्रहार र चौतर्फी आक्रमण भएको बताए। 'कतिले समयमा बुझ्नु नबुझ्नु बेग्लै कुरा हो, तर सबैभन्दा ठूलो क्षति हाम्रो पार्टीले नै व्यहोर्नु पर्यो,' उनले थपे, 'त्यस आन्दोलनले देशलाई नै आतंकित बनायो र नागरिकमा भयको वातावरण सिर्जना गर्यो।'
सोही भय र राजनीतिक अस्थिरताको फाइदा उठाएर देशमा अपराधी तत्वहरू हाबी भएको ओलीको दाबी छ। दलहरूसँग कुनै सहमति नखोजिएको र लोकतान्त्रिक विधिबाट बनेको तत्कालीन सरकारलाई अपदस्त गरेर असंवैधानिक सरकार गठन गरिएको उनले बताए।
ओलीले सोही असंवैधानिक सरकारको अवैध सिफारिसमा निर्वाचित प्रतिनिधि सभाको विघटन गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।