२१ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

देशभर गर्मी बढ्यो, सरकारले सम्पत्ति विवरण छानबिन गर्न थाल्दा ओलीको आपत्ति

जेठ २१, २०८३
काठमाडौं
देशभर गर्मी बढ्यो, सरकारले सम्पत्ति विवरण छानबिन गर्न थाल्दा ओलीको आपत्ति

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको भेटबारे सामाजिक सञ्जालमा नेपाली भाषामै लेखेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।

‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं’, मोदीले लेखेका छन् । मोदी र लामिछानेबिच बुधबार भेटवार्ता भएको थियो ।

००००

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्रोश पोखेका हुन् ।

सम्पत्ति छानबिन आयोग नै असंवैधानिक भएको उनको भनाइ छ । आफू र कांग्रेस नेता रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको उनले दाबी गरे ।

आयोगलाई आफूले मान्यता नदिने, बयान नदिने र सम्पत्ति विवरण पनि नपठाउने बताए ।

'सम्पत्ति छानबिन आयोग संवैधानिक होइन, ज्ञानेन्द्र शाहले विरोधीमा फसाउन आयोग बनाएका थिए त्यस्तै हो यो पनि । केपी ओली र रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको हो,' उनले भने, 'यस्ता आयोगलाई मान्यता दिँदैनौँ, म बयान दिन्नँ र सम्पत्ति विवरण पठाउन्नँ । मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार।'

००००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले नेकपा (एमाले)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक जना गरी ५ जना मन्त्री नियुक्त गरेका हुन् ।

बुधबार चार मन्त्रीले राजीनामा दिएका थिए । लगत्तै उनले पाँच मन्त्री थपेका हुन् ।

पुनर्गठित मन्त्रिमण्डलमा एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

००००

मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।

पानी पर्ने क्रम कम भएसँगै गर्मी बढ्न थालेको हो । देशका विभिन्न ठाउँमा अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।  हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको हो ।

००००

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिका कामकारबाहीका सम्बन्धमा समन्वय एवं सहजीकरण गर्न सभापति ओजस्वी शेरचनको अध्यक्षतामा आठ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको बुधबारको बैठकले समितिमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी उक्त उपसमिति गठन गरेको हो ।

नवगठित उपसमितिमा सदस्यहरु पुकार बम, प्रभाव ढकाल, महावीर पुन, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल, लेखजङ्ग थापा र सीता थपलिया छन् ।

००००

साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा बुधबार नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।

यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

००००

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए ।

००००

कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो ।

००००

नेपाल बार एशोसिएशनले जेन-जी आन्दोलनका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदन र सिफारिसलाई छनोटपूर्ण भनेको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन विस्तृत नभई छनौटपूर्ण रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

००००

विदेशबाट फर्किँदा एक थान अतिरिक्त मोबाइल फोन ल्याउँदा भन्सार नलाग्ने भएको छ ।

नेपालबाट बाहिर जाने र बाहिरी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन र लैजान पाउने सामानका लागि अर्थ मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको हो ।

००००

मधेश प्रदेशका बहालवाला सांसद तथा पूर्वराज्यमन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष १ महिना कैद सजाय भएको छ ।

सिंहलाई विशेष अदालतले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को खण्ड (छ) बमोजिम ४ वर्ष  कैद सजाय तोकेको हो ।

salt training

कमेन्ट गर्नुहोस्