नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन् ।
आज राजधानीमा आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताए । परिसङ्घले लगानी बोर्डसँगको सहकार्यमा उक्त अध्ययन गरेको थियो ।
उनले भने, “बीसभन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनअनुसार उक्त लक्ष्य हासिल गर्न वार्षिक औसत छ प्रतिशत आर्थिक वृद्धि आवश्यक देखिन्छ । सरकारले सात प्रतिशत वृद्धिको लक्ष्य राखेको छ भने हाम्रो अध्ययनले दीर्घकालीन रूपमा छ प्रतिशत वृद्धि कायम राख्न सके लक्ष्य हासिल सम्भव रहेको देखाएको छ ।”
उक्त लक्ष्यलाई अघि बढाउन परिसङ्घले ऊर्जा, उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधारसम्बन्धी १०० वटा सम्भावित उपाय प्रस्ताव गरेको उनको भनाइ थियो । उनले अध्ययनका क्रममा पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी गरिएको बताए ।