
फिफा विश्वकप–२०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमर अर्टानले अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिनु परेको छ । अमेरिका प्रवेशका लागि अनुमति नपाएपछि अर्टानले विश्वकपमा रेफ्री गर्ने अवसर गुमाएका हुन् ।
सन् २०२५ मा ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’मा सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता गरिएको छ । हाल उनी टर्कीमा रहेको बताइएको छ ।
अमेरिकी अध्यागमन अधिकारीहरूले अर्टानलाई प्रवेश निषेध गर्नुको ठोस कारण भने खुलाएका छैनन् । यद्यपि, अमेरिकी प्रशासनद्वारा यात्रा प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा सोमालिया पनि पर्छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि विज्ञप्ति जारी गर्दै अर्टानले यसपटकको विश्वकपमा खेल सञ्चालन गर्न नपाउने पुष्टि गरेको छ ।
फिफाले भनेको छ, ‘अमेरिका प्रवेशमा रोक लागाइका कारण अर्टानले विश्वकपमा सहभागिता जनाउन सक्नुहुने छैन । आयोजक राष्ट्रको अध्यागमन प्रक्रिया र भिसाको निर्णयमा फिफाको भूमिका हुँदैन । यो विषय सम्बन्धित राष्ट्रको अधिकार क्षेत्रभित्र पर्छ ।’
सोमालियाको युवा तथा खेलकुद मन्त्रालयका एक वरिष्ठ सल्लाहकारका अनुसार अर्टानसँग यात्राका लागि आवश्यक सम्पूर्ण वैध कागजातहरू थिए ।
केन्याको नैरोबीस्थित सोमालियन दूतावासका एक अधिकारीले अर्टानको अघिल्ला भिसा समस्याहरूलाई ध्यानमा राखी उनलाई यसपटक कूटनीतिक राहदानी उपलब्ध गराइएको जानकारी दिए । घटनाबारे सोमालियन फुटबल महासंघले फिफासँग तत्काल स्पष्टीकरण माग गरेको छ ।
ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्रयू जिलियानीले भने भन्सार तथा सीमा सुरक्षा अधिकारीको निर्णय सही भएको दाबी गरेका छन् । उनले यस विषयमा विस्तृत विवरण दिन पनि अस्वीकार गरे ।
सन् २०१८ मा फिफा रेफ्री बनेका अर्टानले यसअघि अफ्रिका कप अफ नेसन्समा समेत रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनी क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि छनोट भएका ५२ रेफ्रीमध्ये एक थिए ।
आगामी विश्वकप जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुँदैछ । अर्टान विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने पहिलो सोमालिन नागरिक बन्ने सँघारमा थिए ।