०३ असार २०८३, बुधबार

भारतद्वारा माल्दिभ्सलाई २० हजार डोज दादुरा विरुद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण

असार २, २०८३
काठमाडौं
भारतद्वारा माल्दिभ्सलाई २० हजार डोज दादुरा विरुद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण

माल्दिभ्समा पछिल्लो समय बढ्दै गएको दादुराको प्रकोप नियन्त्रण गर्न सहयोग पुर्‍याउने उद्देश्यले भारतले २० हजार डोज दादुरा विरुद्धको खोप र करिब ३ टन चिकित्सा सामग्री हस्तान्तरण गरेको छ ।

मालेस्थित स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच माल्दिभ्सका लागि भारतीय उच्चायुक्त जी. बालसुब्रमण्यमले २० हजार डोज दादुराको खोप र करिब ३ टन औषधि तथा चिकित्सा सामग्रीको खेप त्यहाँका स्वास्थ्य मन्त्री गिला अलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । 

दादुराका बिरामीहरूको सङ्ख्या बढ्दै गएको चुनौतीपूर्ण समयमा माल्दिभ्सको खोप अभियानलाई सुदृढ बनाउन र जनस्वास्थ्यको रक्षा गर्न यो सहयोग केन्द्रित रहेको छ ।

एक विज्ञप्ति जारी गर्दै भारतले यस समयमै उपलब्ध गराइएको सहयोगले दादुरा नियन्त्रण र व्यवस्थापन गर्ने माल्दिभ्स सरकारको प्रयासलाई थप बल पुग्ने उल्लेख गरेको छ । साथै, भारतको छिमेकी पहिलो नीति र महासागर दृष्टिकोणमा माल्दिभ्सले सधैँ विशेष स्थान राख्ने कुरालाई भारतले जोड दिएको छ। आफूलाई माल्दिभ्सको सङ्कटको सारथी र 'पहिलो प्रतिक्रियादाता'का रूपमा प्रस्तुत गर्दै भारतले दुवै देशका जनताको साझा प्राथमिकता र पारस्परिक हितका लागि माल्दिभ्स सरकारसँग मिलेर काम गर्न सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा भारत र माल्दिभ्सबिच लामो समयदेखिको बलियो सहकार्य रहँदै आएको छ, जसमा विगतका दिनहरूमा खोप, औषधि आपूर्ति, बिरामीहरूको मेडिकल एभ्याकुएसन (हवाई उद्धार) र स्वास्थ्य क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा गरिएका सहयोगहरू सामेल छन्।

salt training

कमेन्ट गर्नुहोस्