
धरानको कोलाहलबाट करिब २५ मिनेटको गाडी यात्रापछि जब तपाईं पहाडको उकालो लाग्नुहुन्छ, हावापानीमा एउटा छुट्टै ताजगी महसुस हुन्छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित डाँडाबजार पुग्दा लाग्छ, प्रकृतिको एउटा सुन्दर क्यानभासमा तपाईं भर्खरै प्रवेश गर्नुभयो । त्यही डाँडाबजारको एउटा कुनामा छ- ‘सुनाखरी निजी होमस्टे’। जहाँ दीपक बस्नेत र उनकी पत्नी अप्सना मगर बस्नेतले पाहुनालाई ‘आफ्नै घर’को आभास गराइरहेका छन् ।
आजभन्दा केही वर्षअघिसम्म दीपक बस्नेतको दैनिकी यति शान्त र सुखद थिएन । धेरै नेपाली युवाहरूजस्तै उनी पनि सपनाको पोको बोकेर वैदेशिक रोजगारीमा गएका थिए ।
मरुभूमिको गर्मी र पराइको काममा पसिना बगाएर फर्किएपछि उनले केही समय यातायात क्षेत्रमा पनि हात हाले । गाडी लाइनमा काम गर्दा गर्दै उनले महसुस गरे-‘आफ्नै माटोमा केही गर्न सकिन्छ ।’
डाँडाबजार र आसपासका क्षेत्रमा पर्यटनको सम्भावना प्रचुर थियो । त्यहाँ सामुदायिक होमस्टेहरू सञ्चालनमा थिए । दीपकको शुरूआती चाहना सामुदायिक होमस्टेमै आबद्ध हुने थियो । तर, त्यहाँको समूहले तत्काल नयाँ सदस्य नथप्ने नीति लिएपछि दीपक अलमलमा परे ।
त्यही बेला उनका एक जना आफन्तले उनलाई एउटा नयाँ बाटो देखाइदिए । डाँडाबजारमा पर्यटन र होमस्टे भित्र्याउन ठूलो योगदान दिएका नातामा भिनाजु पर्नेले दीपकलाई भने, ‘सामुदायिकमा ठाउँ नभए के भयो त ? आफ्नै निजी होमस्टे शुरू गर ।’

भिनाजुको सल्लाह र श्रीमती अप्सनाको साथले दीपकलाई साहस दियो । उनीहरू धरानस्थित पर्यटन कार्यालय पुगे र विधिवत् रूपमा होमस्टे दर्ता गरे । शुरूआतमा पुरानै घरका कोठाहरूबाट पाहुना राख्न थालिएको थियो । तर, बिस्तारै पाहुनाको चाप र माग बढ्दै गएपछि दीपकले होमस्टेलाई थप व्यवस्थित र विकसित बनाउँदै लगे । आज त्यही मेहेनतले सुनाखरीलाई डाँडाबजारको एउटा चिनारी बनाएको छ ।
सुनाखरी होमस्टेको मुख्य विशेषता भनेकै यहाँको भान्सा हो । यहाँ आइपुग्ने पर्यटकले सहरका आधुनिक रेस्टुरेन्टको मेनु होइन, पहाडको शुद्ध र अर्गानिक स्वाद पाउँछन् । दीपक गर्वका साथ भन्छन्, ‘हाम्रोमा जे पाक्छ, यहीँको बारीको उत्पादन पाक्छ ।’
बिहानको खाजामा कोदोको तात्तातो रोटी, गुन्द्रुकको अचार र टमाटरको चटनीले पाहुनाको स्वागत गरिन्छ । सिजन अनुसार सिस्नुको साग, स्कुसको दाना, मुन्टा र फूलकाउलीका परिकारहरू यहाँका विशेषता हुन् । अझ साँझको समयमा लोकल कुखुराको विभिन्न परिकारले पाहुनाको मन जित्ने गरेको छ ।
दीपकले लोकल कुखुराबाट मात्रै तीन थरी परिकार बनाउँछन- तीते (वाचिपा), फ्राइ र रसवाला झोल । किरात संस्कृतिमा लोकप्रिय ‘वाचिपा’को स्वाद चाख्नकै लागि पनि धैरे पर्यटक यहाँ झुम्मिने गर्छन् ।
‘हाम्रोमा आउने पाहुनाहरू आफैं बारीमा गएर आरु र बखडा टिपेर खानुहुन्छ । त्यो खुसी र सन्तुष्टि देख्दा मलाई वैदेशिक रोजगारीको दु:ख सबै बिर्सिएझैँ लाग्छ’, दीपक भन्छन् ।
डाँडाबजारको यो कायापलटमा सडक सञ्जालको ठूलो हात छ । दीपक सम्झिन्छन्, ‘पहिला बाटो नहुँदा निकै दु:ख थियो । पानीको अभाव त छँदै थियो, भेडेटारसम्म हिँडेर जानुपर्ने बाध्यता थियो ।’

तर अहिले समय फेरिएको छ । धरानबाट १ घण्टामा डाँडाबजार पुग्न सकिन्छ । विराटनगरबाट पनि डेढ–दुई घण्टाको यात्रामा पर्यटकहरू यहाँको चिसो हावा खान आइपुग्छन् । बाटो बनेपछि कृषिसँगै पर्यटनले पनि गति लिएको छ ।
विशेषगरी शनिबारका दिन आन्तरिक पर्यटकको ठूलो घुइँचो लाग्छ । विराटनगर, इटहरी, गाईघाट र धरानबाट आउने पर्यटकहरूले स्थानीय कृषकका उत्पादनहरू महँगो दरमा किनेर लैजान्छन् , यसले गर्दा दीपक जस्ता उद्यमीलाई मात्र होइन, गाउँका सामान्य किसानलाई पनि आर्थिक लाभ पुगेको छ ।
सुनाखरी होमस्टे केवल एउटा व्यवसाय मात्र होइन, यो दीपक र अप्सनाको सुन्दर सहकार्यको प्रतिफल पनि हो । होमस्टे अप्सनाकै नाममा दर्ता छ र यसको ‘सुनाखरी’ नाम पनि उनले नै जुराएकी हुन् ।
घर आँगनमा फुलेका सुनाखरीका फूलहरू जस्तै यो होमस्टेले पनि डाँडाबजारमा आतिथ्यताको सुवास छरिरहेको छ । दीपक बाहिरको व्यवस्थापन र पाहुनासँगको समन्वयमा खट्छन् भने अप्सना भान्सा र आन्तरिक व्यवस्थापनमा निपूण छिन् ।