०८ असार २०८३, सोमबार

सुधार गृह पठाउने तयारी गरिएका युवकले चक्कु प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते

असार ७, २०८३
विराटनगर
सुधार गृह पठाउने तयारी गरिएका युवकले चक्कु प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते

विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले चक्कु प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१, ठूलो मिल दक्षिणस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिन कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् ।

रामेछाप स्थायी घर भई विगत १५ वर्षदेखि विराटनगरमा आमासँग बस्दै आएका कार्की लागुऔषध प्रयोगकर्ता रहेको स्थानीयले बताएका छन् ।

उनलाई आइतबार दिउँसो काठमाडौंको एक सुधार गृह पठाउने तयारी भएको थियो ।

आफूलाई सुधार गृह पठाउने तयारीबारे थाहा पाएपछि उनले कोठाको ढोका थुनेर आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइबुझाइ गरेका थिए । तर, उनले अचानक चक्कु निकालेर आक्रमण शुरू गरेका थिए ।

कार्कीको चक्कु प्रहारबाट सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते तीनै जनाको टाउकोमा चोट लागेको छ । उनीहरूको हाल विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणपछि युवकले पुनः कोठाको ढोका थुनेका थिए । हतियारसहित कोठाभित्र लुकेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।

ढोका खोल्न अस्विकार गरेपछि प्रहरीले भर्‍याङको प्रयोग गरी झ्यालबाट भित्र पसेर उनलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्कीको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मिश्रका अनुसार पक्राउ परेका कार्कीलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्