
म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ। रघुगङ्गा हाइड्रो लिमिटेडका अनुसार दग्नाम र झिँको सिमानास्थित बाँधबाट ६.२७ किलोमिटर लामो मुख्य सुरुङमा पानी भर्ने काम सुरु गरिएको हो।
प्रबन्ध सञ्चालक गणेश केसीले पहिलो दिन १,६०० मिटर सुरुङमा पानी भरिएको र चार दिनभित्र सम्पूर्ण सुरुङ भरिसक्ने लक्ष्य रहेको बताए । करिब १५ दिन परीक्षणपछि आयोजनालाई सञ्चालनयोग्य बनाइने र त्यसपछि २० मेगावाट क्षमताको एक युनिटबाट परीक्षण विद्युत् उत्पादन सुरु गरिने तयारी छ।
बाँध, पानी थिग्र्याउने पोखरी र स्वीचयार्डको परीक्षण सफल भइसकेको छ भने विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ। एउटा युनिट जडान भइसकेको र अर्को जडानको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ।
सन् २०१७ मा सुरु भएको आयोजनाको निर्माण कोरोना महामारी, बाढी–पहिरो तथा निर्माण सामग्री अभावका कारण ढिलाइ भएको थियो। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाबाट उत्पादित विद्युत् दाना–कुश्मा २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।