
पश्चिम नवलपरासीको बर्दघाटस्थित रोयल कटेज रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शंखे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको, होटलमा प्रयोग भएको सामग्रीसमेत अस्वस्थकर भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए ।
बर्दघाट नगरपालिकाका वडाहरूलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको टोलीले अनुगमनपश्चात् उक्त होटलमा खान गएका थिए । भण्डारीले खाना खाँदा सागमा शंखे किरा परेको भेटिएको थियो ।
पूर्वपश्चिम राजमार्गमा रहेको होटल खाना खुवाउनेमा पर्छ । सहायक प्रमुख जिल्ला अधिकारीसहित घरेलु तथा साना उद्योग कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले तत्काल अनुगमन गरेर ५० हजार जरिवाना र आगामी दिनमा यस्तो गल्ती नगर्न निर्देशन दिएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा क्रममा गृहमन्त्री सुदन गुरुङले अमलेट खाँदा माछाको काडा भेटिएपछि चितवनको एक होटललाई तीन लाख जरिवाना गरिएको थियो ।