
गृहमन्त्री सुदन गुरुङले पूर्वजानकारी बेगर पर्सा र बाराका सीमा नाकाहरूमा छड्के अनुगमन गरेका छन् ।
यसअघि प्रहरी र सशस्त्र प्रहरीका प्रमुख (आईजीपी)सम्मले सादा पोशाकमै पुगेर छड्के अनुगमन गरे पनि गृहमन्त्रीस्तरमा भएको यो अनुगमन पहिलो हो ।
सामान्य सर्वसाधरण झैँ गुरुङ शुक्रबार साँझ नै हेटौँडाबाट पथलैया हुँदै बारा झरेका थिए । यो घटनाले सुरक्षा निकायमा तरंग फैलियो नै । सँगसँगै गृहमन्त्रीले ‘प्रोटोकल’ बाहिर गएर अनुगमन गर्दा उनकै सुरक्षा जोखिम बढेको भनेर पनि चर्चा भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल चितवनबाट शुक्रबार राति करिब ९ बजे सोझै पथलैया पुगेका गुरुङ पूर्व–पश्चिम राजमार्गको पिलुवा हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए ।
गुरुङले पर्साको भन्सार कार्यालय आसपासका गाउँमा पुगेर सीमाबाट हुने तस्करीको बारेमा स्थानीयसँग संवाद गरेका थिए ।
विश्वस्त स्रोतका अनुसार गृहमन्त्री गुरुङ शुक्रबार राति सिमराको एक सामान्य होटलमा बसेका थिए ।
उनले आफ्नो अनुगमनबारे स्थानीय प्रहरीलाई जानकारी नगराउन मातहतलाई निर्देशन दिएका थिए । उनी वीरगञ्जबाट सबैभन्दा बढी तस्करी हुने नाकाको रूपमा परिचित अलौं र पनटोक्का पुगेर त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गरेको स्रोत बताउँछ ।
‘उहाँ अनुगमनमा निस्किएको हामीलाई जानकारी थियो, तर कसैलाई जानकारी नहोस् भन्ने उहाँकै चाहनाले गर्दा हामीले धेरै सोधीखोजी गरेनौँ र अनादेखा गर्याँै,’ पर्सामा कार्यरत एक सुरक्षा अधिकृतले भने, ‘शुक्रबार राति बारा बसेर शनिबार बिहानैदेखि छड्ेका निस्कनुभएको थाहा थियो ।’
कम्तीमा अनुगमनमा निस्किँदा गृहमन्त्रीले जिल्ला सुरक्षा समितिलाई जानकारी गराउनुपर्ने जानकारहरू बताउँछन् । यो उनकै सुरक्षाका लागि निकै आवश्यक कुरा हो ।
‘सीमामा पुगेर तस्करका सूचना लिँदा उहाँमाथि नै सुरक्षा थ्रेट बढ्छ, पर्साका एक सुरक्षा अधिकृतले लोकान्तरसँग भने, ‘गृहमन्त्रीज्यूले चाहेको भए केन्द्रबाटै सुरक्षा टोली लिएर सुक्ष्म रूपमा अनुगमनमा जानसक्नुहुन्थ्यो, जसले सुरक्षा थ्रेट कम हुन्थ्यो ।’
अनुगमनमा क्रममा गृहमन्त्री गुरुङ गाडी फेर्दै सीमा नाकानजिक पुगेका थिए । बारा र पर्साका प्रहरी प्रमुख त जानकार हुने भएनन् नै, जिल्लाका सीडीओलाई समेत जानकारी गराइएको थिएन ।
अनुगमनका क्रममा गुरुङले क्याप, मास्क, कालो चश्मा, टिसर्ट र हाफ पाइन्ट लगाएका थिए । सीमा क्षेत्रमा उनले स्थानीयसँग पोके तस्करको बारेमा सोधीखोजी गरेका थिए । उनले विशेष गरी साइकलमा, मोटरसाइकल र मानिसले टाउकोमा बोकेर गरिने तस्करीको शैलीबारे जानकारी लिएका थिए ।
गृृहमन्त्री गुरुङसमक्ष स्थानीयले सुरक्षाकर्मीकै मिलेमतो र संरक्षणमा दिनदहाडै तस्करी हुने गरेको गुनासो गरेका थिए ।
नाकामा जडान गरिएको सीसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी गराउने गरिएको गुनासो स्थानीयले गृहमन्त्रीसमक्ष गरेको सार्वजनिक भिडियोमा सुनिन्छ ।
पोलमा रहेको सीसीटीभीको निगरानी सशस्त्र प्रहरी र जिल्ला प्रशासनबाट हुँदै आएको जानकारी स्थानीयले गृहमन्त्रीलाई गराएका थिए ।
शनिबार दिनभर नाकाहरूको छड्के अनुगमनपछि उनी साँझ साढे ५ बजेको फ्लाइटबाट सिमरा हुँदै काठमाडौं आएका थिए ।
तर, त्यसअघि उनले बारा र पर्साका सीडीओेलाई सिमरा विमानस्थलमा बोलाएका थिए । सीडीओेसँगै दुवै जिल्लाका प्रहरी प्रमुख (एसपी) पनि विमानस्थल पुगेका थिए ।
स्रोतका अनुसार विमानस्थलमा गृहमन्त्री गुरुङले उभिएरै सीमामा हुने तस्करीलगायत अपराध नियन्त्रणमा कडाई गर्न निर्देशन दिएका थिए ।
‘गृहमन्त्रीज्यूले खडेखडे (उभिएरै) निर्देशन दिन थाल्नुभयो,’ एक सुरक्षा अधिकृतले भने, ‘विशेषगरी प्रमुख नाका छलेर सहायक नाकाबाट हुने तस्करी नियन्त्रण गर्न उहाँको जोड थियो ।’
सरकारले भन्सार बिन्दुमा सर्वसाधारणलाई ५ सय रुपैयाँभन्दा बढी सामान किनमेल नगर्न कडाई गरेसँगै खुला सीमानाको फाइदा उठाउँदै तस्करी हुँदै आएको गुनासो स्थानीयहरूको थियो ।
उक्त गुनासोमाथि सम्बोधन गर्न र तस्करी नियन्त्रण गर्न गृहमन्त्रीको जोड थियो । गृहमन्त्री गुरुङसँग स्थानीयहरूले जिल्लाका सुरक्षा निकायको मिलेमतोविना संगठित तस्करी सम्भव नरहेको गुनासो गरेका थिए ।
विशेषगरी मधेश प्रदेशमा तस्कर र प्रहरीबीचको मिलेमतोको आशंका जहिल्यै चर्चामा आउँछ ।
एक महिनाअघि मात्रै मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डीआईजी गोविन्द थपलियाले तस्करसँग पैसा उठाउन प्रहरी परिचालन गरेको अडियो बाहिरिएको थियो ।
त्यतिमात्रै होइन, प्रदेशबाट खटाएका घुमुवा प्रहरीहरू गाँजा तस्करसँग गाडीमा हुँइकिएको भिडियो पनि सार्वजनिक भएको थियो । यही घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले एआईजी उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिको प्रतिवेदन अहिलेसम्म गोप्य राखिएको छ । थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । अडियोमा जोडिएका वरिष्ठ सई सागर राणालाई बाजुराको इलाका प्रहरी कार्यालय बुढीनन्दामा सरुवा गरिएको छ ।
अर्का वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादव उपत्यका भित्रै सरुवा भएका छन् ।