१२ असार २०८३, शुक्रबार

कैद मिनाहा पाएर छुटेका यामबहादुर फेरि श्रीमती हत्या आरोपमा पक्राउ

असार १०, २०८३
काठमाडौं
कैद मिनाहा पाएर छुटेका यामबहादुर फेरि श्रीमती हत्या आरोपमा पक्राउ

गुल्मीमा एक पुरुषले केही वर्षको अन्तरालमा दुई श्रीमतीको हत्या गरेको खुलेको छ । 

पहिलो श्रीमतीको हत्या अभियोगमा जेल परेर कैद मिनाहापछि छुटेका उनले कान्छी श्रीमतीको पनि हत्या गरेपछि उनका चार सन्तान बिचल्लीमा परेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–५ का ४१ वर्षीय यामबहादुर कुमालले दुई श्रीमतीको हत्या गरेको खुलेको हो ।

पहिलो श्रीमतीको हत्या गरेर जेल गएका उनी संविधान दिवसको अवसरमा कैद मिनाहा पाएर छुटेका थिए । तर, छुटेको केही समयमै उनले दोस्रो श्रीमतीको पनि हत्या गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यामबहादुरले मादक पदार्थ सेवन गरेर ३७ वर्षीया श्रीमती मुना कुमालमाथि कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी मुनालाई प्रहरी टोलीले उद्धार गरेर जिल्ला अस्पताल तम्घास पुर्‍याए पनि उपचारकै क्रममा बुधबार चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न यामबहादुरलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार यामबहादुर पहिलो श्रीमती हत्या प्रकरणमा जेल बसेका व्यक्ति हुन् । कैद मिनाहा पाएर छुटेका उनले फेरि कान्छी श्रीमतीको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।​ 

यामबहादुरकी पहिलो श्रीमतीतर्फ दुई छोरी र एक छोरा तथा दोस्रो श्रीमतीतर्फ एक छोरा छन् ।

salt training

कमेन्ट गर्नुहोस्