१५ असार २०८३, सोमबार

केही दिन देशभर मुसलधारे वर्षाको सम्भावना

असार १५, २०८३
काठमाडौं
केही दिन देशभर मुसलधारे वर्षाको सम्भावना

मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकीको केही भू–भाग र लुम्बिनीको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी र लुम्बिनीका बाँकी भू–भाग, कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ ।
    
महाशाखाका अनुसार कोशी र मधेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ । 

कोशी, बागमती र लुम्बिनीका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमको एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
    
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भू–भागका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ । 

देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । कोशीको तराई र मधेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
    
साथै, आज राति कोशी, बागमती, गण्डकीका पहाडी र हिमाली भू–भागका धेरै स्थान, र लुम्बिनीका पहाडी भु–भागका केही स्थानमा र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।  
    
कर्णाली र सुदूरपश्चिमको पहाडी भू–भागका थोरै स्थान तथा हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । 

मधेश तथा कोशी, बागमती, गण्डकी प्रदेशकाका धेरै तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 
कोशीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश, बागमती, गण्डकीको एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । 

मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा लगभग नेपालभरि वर्षा भएको छ । असर १५ मा धेरै ठाउँमा रोपाइ हुने वातावरण बन्दै गएको उनले बताए । मनसुन चाँडै पनि पुरै नेपाल पार हुने उनको भनाइ छ । 

महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्