२४ असार २०८३, बुधबार

कांग्रेस एकताका लागि जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार छु- शशांक कोइराला

असार १५, २०८३
काठमाडौं
कांग्रेस एकताका लागि जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार छु- शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको भन्दै कांग्रेस एकताका लागि आफू जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार रहेको बताएका छन् ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा सोमबार महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित दही–चिउरा खाने तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले कांग्रेस विभाजित अवस्थाजस्तो देखिएकाले मुलुकको हितका लागि पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नरहेको बताए ।

‘म सधैं सिंगो कांग्रेसको पक्षमा छु । कांग्रेसको एकताका लागि जुनसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु,’ उनले भने ।

कोइरालाले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणका लागि सबैको साझा प्रयास सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै किसानको हितमा काम गर्न सकेमात्र देश समृद्ध बन्न सक्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, संसदीय दलका नेता भीष्मराज आङदेम्बे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह, नेता एनपी साउद, चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, शंकर भण्डारी, मोहन बस्नेत, दीपक खड्का, दीपक गिरी, रमेश लेखक, रामहरि खतिवडालगायत विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति थियो ।

नेपालमा २०६१ सालदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ मनाइने यस दिन धान रोपाइँ गर्ने र दही–चिउरा खाने परम्परा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्