
अनिद्राले रोगी मधुमेह (चिनीरोग) : अनिद्राका कारण शरीरमा कर्टिसोल हर्माेनको उत्पादन बढ्छ । जुन हर्माेनले चिनीको मात्रा वृद्धि गराउँछ । नियमित अनिद्राको समस्या भएमा उक्त हर्मोनले मधुमेहको रोग निम्त्याउँछ ।
मुटुरोग : अनिद्रा कारण उच्च रक्तचापको समस्या पनि देखिन्छ । र, विस्तारै मुटुसम्बन्धी रोग देखिन थाल्छन् ।
पाचनप्रणालीमा समस्या : पाचनप्रक्रिया पूर्ण हुनका लागि तीनदेखि चार घण्टासम्म लाग्छ । मानिसमा अनिद्राको समस्या भएमा यसले तनावलाई निम्त्याउँछ र पाचनप्रक्रिया ढिला हुन जान्छ । यसो हुँदा पाचनसम्बन्धी विभिन्न समस्या देखिन थाल्छन् ।
मानसिक समस्या : अनिद्राको कारण मानसिक समस्या पनि हुन्छ । अनिद्राले स्मरण शक्तिमा कमी ल्याउनुका साथै मानसिक अस्थिरता, चिट्चिडाहट, बढी रिस उठ्नेलगायत समस्या सिर्जना हुन्छन् ।
अव्यवस्थित दिनचर्या : अनिद्राको समस्या भएमा बिहान उठ्दा स्वस्थ महसुस हुँदैन । अनिद्राकै कारण अव्यवस्थित तरिकाले निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।
जसकारण निद्रा पर्दैन
मौसम : निद्रालाई असर गर्ने महत्वपूर्ण पक्ष मौसम हो । गर्मीमा बढी र जाडोमा कम निद्रा लाग्ने हुन्छ । सूर्यको किरणका कारण शरीरमा उत्पादन हुने सेरोटोनिन हर्मोनको कारण यस्तो हुन्छ । सेरेटोनिनको कमी हुँदा मानसिक तनाव हुने गर्छ र जाडोमा कम निद्रा लाग्छ ।
खानपानः अव्यवस्थित खानपानले पनि अनिद्राको समस्या हुन्छ । खाना खाने समय, खानाको प्रकृति आदि कुराले यसमा प्रभाव पार्छ । रातमा ढिलो खाना खाने, सुत्ने वेलामा चिया कफीजस्ता पेयपदार्थ पिउने, सुत्नुपूर्व अत्यधिक पानी पिउने, जंक फुडको प्रयोगले अनिद्राको समस्या हुन्छ । यौगिक भाषामा भन्दा तामसी र राजसी खाना खानाले पनि निद्रालाई प्रत्यक्ष असर पुर्याउँछ । खाना खाएपछि पाचनक्रिया प्रारम्भ हुन्छ । जसका कारण गहिरो निद्रा पर्दैन । जति बढी खाना खायो पाचन प्रक्रियाले त्यति नै बढी समय लिन्छ ।
मानसिक अस्थिरता : अनिद्रा हुने अर्को महत्वपूर्ण पक्ष मानसिक अस्थिरता हो । मानसिक अस्थिरता मस्तिष्कको लिम्बिक सिस्टमसँग सम्बन्धित छ । जहाँ भावनाहरू जटिल सञ्जाल बनाई बसेका हुन्छन् । लिम्बिक सिस्टम हाइपोथालामस नामक मस्तिष्कको एउटा भागसँग जोडिएको हुन्छ । जसले शरीरमा निद्राको सञ्चार गर्छ । मानसिक अस्थिरता हुँदा लिम्बिक सिस्टममा असर पर्न गई हाइपोथालामसमा असर गर्छ । र, अनिद्राको समस्या देखा पर्न जान्छ ।
कति सुत्ने ?
विज्ञानले भनेको छ कि उमेर बढेसँगै शरीरमा पिनिएल ग्ल्यान्डले निद्रा लाग्ने हर्मोनको उत्पादनमा कमी ल्याउँछ । विशेषगरी बच्चा बढी र वृद्धवृद्धा कम समय सुत्ने गरेको पाइन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ नामक संस्थाले उमेरसमूहअनुसारको निद्रा अवधि तय गरेको छ ।
नयाँ पत्रिकाबाट