०७ साउन २०८३, बिहीबार

महाकाली सिँचाइ आयोजनाको पानी भारतसँगको कूटनीतिक पहलमार्फत ल्याउन सांसद बोहोराको माग

असार २४, २०८३
काठमाडौं
महाकाली सिँचाइ आयोजनाको पानी भारतसँगको कूटनीतिक पहलमार्फत ल्याउन सांसद बोहोराको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाका लागि भारतसँग आवश्यक कूटनीतिक पहल गरी महाकाली नदीको पानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शारदा ब्यारेजबाट महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने व्यवस्था रहे पनि भारतसँग आवश्यक कूटनीतिक पहल नहुँदा हालसम्म पानी नछोडिएको बताए । 

उनले ४८ किलोमिटर लम्बाइको आयोजनामध्ये करिब ३० किलोमिटर निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयमार्फत भारतसँग आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बोहोराले कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा नहरको अन्त्य हुने क्षेत्रका स्थानीयसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाइएको आरोप लगाए । 

स्थानीयबासीले आफूहरूलाई नहर आवश्यक नरहेको बताइरहेका अवस्थामा सरकारले नहरको औचित्य स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

उनले उक्त क्षेत्र दुई नदीको बीचमा करिब १०० मिटरको दूरीमा रहेको र केही दिनअघि परेको वर्षाका कारण बस्ती डुबानमा परेको उल्लेख गरे । एकातर्फ स्थानीय तहले आवासीय क्षेत्र घोषणा गरेको र अर्कोतर्फ त्यहीँबाट नहर लैजान लागिएको भन्दै यसबारे सरकार स्पष्ट हुनुपर्ने बताए ।

बोहोराले नहर निर्माणका कारण स्थानीयको जग्गा प्रभावित हुने चिन्तालाई सरकारले सम्बोधन गर्नुपर्ने तथा आयोजना किन आवश्यक छ भन्ने विषयमा स्थानीयसँग अन्तरक्रिया गरी विश्वासमा लिनुपर्नेमा जोड दिए।

सांसद बोहोराले कृष्णपुर नगरपालिका–१ मा नहरका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा अन्य क्षेत्रको तुलनामा कम निर्धारण गरिएको भन्दै त्यसको पुनरवलोकन गर्न पनि सरकारसँग माग गरे ।

राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जनतालाई आयोजनाको आवश्यकता बुझाउने, मुआब्जाको पुनरवलोकन गर्ने, स्थानीयसँग संवाद बढाउने र देखिएका अवरोध हटाएर नहर निर्माणको काम अघि बढाउनुपर्ने उनले बताए ।

‘कृष्णपुर-१ मा नहर पर्दा त्यहाँ मुआब्जा कम निर्धारण गरियो । थाहा छैन किन निर्धारण कम भयो । त्यहाँका नागरिकले भनिरहेका छन् कि मुआब्जा पुनरवलोकन गरिदिनुपर्‍यो । यतापट्टी बढी भयो, उतापट्टी बढी भयो, हाम्रो किन कम भयो भनिरहेका छन्’, सांसद बोहोराले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा कसरी काम गर्नुपर्छ सरकारले त्यसरी गर्नुपर्‍यो । सरकारले जनतालाई नहरको औचित्य बताउनुपर्‍यो । मुआब्जाको समीक्षा र पुनरवलोकन गर्नुपर्‍यो । त्यहाँ अवरोध छ, जनतासँग अन्तरक्रिया गर्नुपर्‍यो । नहरको काम शुरू गर्नुपर्‍यो ।’

कमेन्ट गर्नुहोस्