
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग भएको युद्धविराम समाप्त भएको ठानेको बताएका छन् ।
नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब इरानसँग थप वार्ता गर्न इच्छुक नरहेको स्पष्ट पारे ।
‘मेरो विचारमा युद्धविराम सकिएको छ । म अब उनीहरूसँग व्यवहार गर्न चाहन्नँ । उनीहरू झुटा हुन्,’ ट्रम्पले भने । उनले इरानी नेतृत्वलाई ‘खतरनाक’ र ‘हिंसात्मक’ भन्दै कडा आलोचना गरे ।
ट्रम्पले आफ्ना वार्ताकारहरूले चाहे वार्ता जारी राख्न सक्ने बताए पनि त्यसबाट कुनै परिणाम ननिस्कने विश्वास व्यक्त गरे । ‘उनीहरू कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हो,’ उनले भने ।
उनले अमेरिका र इरानबीच यसअघि आणविक हतियार नबनाउने विषयमा सहमति भएको दाबी गर्दै इरानले बाहिर गएर त्यस्तो विषयमा कहिल्यै छलफल नै नभएको बताउने गरेको आरोप लगाए ।
‘हामीले सम्झौता गर्छौं, सबै कुरा मिलिसक्छ । तर उनीहरू बाहिर गएर सञ्चारमाध्यमलाई हामीले त्यसबारे कुरा नै गरेका छैनौं भन्छन् । उनीहरू झुट बोल्छन्,’ ट्रम्पले भने ।
इरानसँग वार्ता पुनः शुरू हुने सम्भावनाबारे सोधिएको प्रश्नमा पनि उनले आफूलाई त्यसप्रति कुनै चासो नभएको प्रतिक्रिया दिए ।
‘मलाई कुनै मतलब छैन । उनीहरू कुरा गर्न सक्छन् । तर उनीहरू समय मात्र खेर फालिरहेका छन् । उनीहरू झुट बोल्ने समूह हुन्,’ ट्रम्पले भने ।