२६ असार २०८३, शुक्रबार

चार विधेयकमा राष्ट्रियसभाका संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

असार २५, २०८३
काठमाडौं
चार विधेयकमा राष्ट्रियसभाका संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

 प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकमाथिको संशोधन स्वीकृत गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयकमाथिको संशोधन स्वीकृत गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी (पहिलो संशोधन) विधेयकमाथिको संशोधन स्वीकृत गर्ने प्रस्ताव भने बहुमतले पारित भएको छ।

छलफलका क्रममा सांसद पार्वती विकले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले विधेयक कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि धेरै छलफलपछि ल्याइएको बताइन्।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

प्रतिनिधिसभाको अर्को बैठक असार २६ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ।

salt training

कमेन्ट गर्नुहोस्