३० असार २०८३, मंगलबार

विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट निःशुल्क उपलब्ध गराउने समझदारी​

असार ३०, २०८३
काठमाडौं
विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट निःशुल्क उपलब्ध गराउने समझदारी​

विपद्‌मा परेका व्यक्तिहरूको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टर, ड्रोन र राफ्टिङ उपकरण प्रयोग गर्ने सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न संस्थासँग समझदारी गरेको छ।

प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा)सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र विपद् उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर सेवा निःशुल्क उपलब्ध गराउनेछ। उपत्यकाबाहिर उडान आवश्यक परेमा भने न्यूनतम् सञ्चालन खर्चमा सेवा दिने सहमति भएको छ।

यस्तै, नेपाल ड्रोन संघ र नारासँग भएको समझदारीअनुसार विपद्को समयमा प्राधिकरणले आवश्यक ठानेर माग गरेमा ड्रोन र राफ्टिङ उपकरण जनशक्तिसहित निःशुल्क उपलब्ध गराइनेछ।

null

प्राधिकरणले यस्तो सहकार्यबाट विपद्को समयमा खोज तथा उद्धार कार्यलाई थप छिटो, प्रभावकारी र समन्वयात्मक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। 

उक्त अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताए ।

उनले सबैको हातेमालोबाट मात्रै विपद्‌लाई पार लगाउन सकिने भन्दै निजी क्षेत्रको सेवाभाव प्रति आभार व्यक्त गरे ।

यसैगरी, वायुसेवा सञ्चालक संघ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्‌मा परेका नागरिकको जनधनको सुरक्षाका लागि आफूहरूले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्