०९ साउन २०८३, शनिबार
मध्यपूर्वमा तनाव

कच्चा तेलको मूल्य दुई महिनायताकै उच्च, ब्रेन्ट क्रुड १०० डलरपार

साउन ८, २०८३
काठमाडौं
कच्चा तेलको मूल्य दुई महिनायताकै उच्च, ब्रेन्ट क्रुड १०० डलरपार

मध्यपूर्वमा तीव्र रूपमा बढिरहेको सैन्य द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । नेपालीसमयअनुसार शुक्रबार बिहान अन्तर्राष्ट्रिय मानक 'ब्रेन्ट क्रुड'को मूल्य करिब ७ प्रतिशतले बढेर प्रतिब्यारेल १००.६९ डलर पुगेको छ। गत मे २२ पछि ब्रेन्ट क्रुड १०० डलरभन्दा माथि पुगेर बन्द भएको यो पहिलो पटक हो।  

यसैगरी, अमेरिकी मानक 'वेस्ट टेक्सास इन्टरमिडिएट'को मूल्य पनि ६.१७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९२.१९ डलर पुगेको छ। जुन ४ पछि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य यो बिन्दुमा पुगेको पहिलो पटक हो । 

रणनीतिक रूपमा महत्त्वपूर्ण समुद्री मार्ग 'हर्मुज' र 'बाब अल-मन्देव' क्षेत्रमा द्वन्द्व चर्किएपछि लगातार पाँचौँ दिन तेलको मूल्य उकालो लागेको हो ।  

अमेरिका र इरानबीच सैन्य मुठभेड तीव्र बन्दै जाँदा अमेरिकी सेनाले इरानविरुद्ध सैन्य आक्रमण बढाएको छ। यसैबीच यमनका हुथी विद्रोहीहरूले रातो सागरमा साउदी अरबका तेल ट्याङ्करहरूमाथि आक्रमण गरेपछि स्थिति झनै भयावह बनेको छ । 

साउदी अरबले हर्मुजको विकल्पका रूपमा प्रयोग गर्दै आएको यो प्रमुख निर्यात मार्गमा आक्रमण भएपछि विश्वव्यापी इन्धन आपूर्ति नै ठप्प हुने त्रास बढेको छ।  

यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामका कारण गत फेब्रुअरी २८ मा सैन्य कारबाही शुरू हुनुभन्दा अघिको स्तरमा तेलको मूल्य झरेको थियो। जुलाई १ मा ब्रेन्ट क्रुड घटेर प्रतिब्यारेल ७१.५७ डलरसम्म आइपुगेको थियो। तर, पछिल्लो तीन सातामै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ४० प्रतिशतको तीव्र उछाल आएको हो ।  

कच्चा तेलको मूल्यमा आएको उछालले मुद्रास्फीति (महङ्गी) बढाउने चिन्ता थपिँदा वित्तीय बजारहरूसमेत प्रभावित भएका छन्। तेलको मूल्य बढेसँगै अमेरिकाको १० वर्षे ट्रेजरी बन्ड याल्ड जनवरी २०२५ पछिकै उच्च बिन्दुमा पुगेको छ, जसले घरजग्गाको धितोकर्जाको ब्याजदरमा प्रत्यक्ष प्रभाव पार्नेछ।

वाल स्ट्रिटका प्रभावशाली कम्पनीहरू 'अल्फाबेट' र 'टेसला'को सेयरमा आएको भारी गिरावट तथा इन्धनको मूल्यवृद्धिका कारण अमेरिकी शेयर बजारमा एक महिनायताकै ठुलो मन्दी छाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्