
फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।
फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो शहरतर्फ बढिरहेको छ। बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ ।
फ्रान्सका अधिकारीहरूले डढेलो अझै नियन्त्रणबाहिर रहेको जनाउँदै बोरदोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको बताएका छन् । धुवाँ शहरसम्म पुगेपछि बासिन्दाले हावामा तीव्र धुवाँको गन्ध महसुस गरेका छन् ।
गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ भने झाडी फाँड्ने र आगो फैलिन नदिन अवरोध निर्माण गर्ने कार्य भइरहेको छ ।
युरोपेली संघका विभिन्न देशले पनि सहयोग स्वरूप फ्रान्समा क्रोएसियाबाट तीनवटा क्यानाडेयर विमान, पोर्चुगलबाट दुईवटा एयर ट्र्याक्टर विमान, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली पठाएका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनका अनुसार ईयूको संयुक्त अग्नि नियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको छ ।
डढेलोका कारण आइतबार हुने तय भएको टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण पनि १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ, ताकि सुरक्षा निकायलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस् ।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोबारे आपतकालीन बैठक बोलाएका छन् । सरकारले यस अवस्थालाई अभूतपूर्व संकटको संज्ञा दिएको छ ।
स्पेनमा पनि डढेलोका कारण आपत्काल घोषणा गरिएको छ । राजधानी म्याड्रिड आसपासका क्षेत्रमा केही स्थानमा मौसममा सुधार आएपछि डढेलोको तीव्रता केही घटेको अधिकारीहरूले बताएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कठिन समय अझै बाँकी रहेको स्वीकार गर्दै अहिले मौसममा आएको सुधारलाई डढेलो नियन्त्रणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
भ्यालेन्सिया क्षेत्रमा लागेको डढेलोमा करिब ७० वर्षका एक पुरुषको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नै कारभित्र मृत फेला परेका थिए ।
स्पेनको गृह मन्त्रालयका अनुसार म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छ न्। म्याड्रिड क्षेत्रकी प्रमुख इसाबेल डियाज आयुसोले यसलाई इतिहासको सबैभन्दा भीषण डढेलो भनेकी छन् ।
प्रधानमन्त्री सान्चेजका अनुसार यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत एक लाख हेक्टरभन्दा बढी हो । फ्रान्समा पनि सन् २०२६ को शुरूदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।
यता इटालीको सिसिली टापुमा ३५० भन्दा बढी स्थानमा डढेलो लागेको छ, जसमा १० वटा ठूला आगलागी समावेश छन् । प्रभावित क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्कटल्यान्डको केर्नगर्म्स राष्ट्रिय निकुञ्जमा पनि १० दिनदेखि जारी डढेलो नियन्त्रणका लागि आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हाजा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति विगतका सबै रेकर्डभन्दा बढी हुन सक्ने चेतावनी दिएकी छन् ।
उनका अनुसार गत वर्ष युरोपमा करिब १० लाख हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरेको थियो भने यस वर्ष गर्मी याम चाँडै शुरू भएकाले अझ ठूलो क्षतिको जोखिम रहेको छ ।