१० साउन २०८३, आइतबार

क्यास्पियन सागरमा इरानी जहाजमाथि युक्रेनको आक्रमण, एक नाविकको मृत्यु

साउन १०, २०८३
काठमाडौं
क्यास्पियन सागरमा इरानी जहाजमाथि युक्रेनको आक्रमण, एक नाविकको मृत्यु

इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यावसायिक जहाजमाथि युक्रेनले गरेको आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ ।

इरानको विदेश मन्त्रालयले शनिबार उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई राष्ट्रिय सुरक्षामाथिको आक्रमणको संज्ञा दिएको हो ।

मन्त्रालयका अनुसार आक्रमणपछि जहाजमा विस्फोट भएको थियो, जसमा एक नाविकको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् ।

घटनापछि इरानले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर विरोधपत्र बुझाएको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार तेहरानले उक्त घटनालाई शत्रुतापूर्ण र आपराधिक आक्रमण भन्दै आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्ने स्पष्ट गरेको छ ।

युक्रेन–रुस युद्धका क्रममा रुसले इरानी डिजाइनका ड्रोन प्रयोग गर्दै आएको छ । त्यसको प्रतिरोध गर्दै आएको युक्रेनले इरानबाट आक्रमण झेलेका मध्यपूर्वका देशहरूलाई ड्रोन अवरोधसम्बन्धी आफ्नो अनुभव साझा गर्न प्रस्तावसमेत गरेको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले मध्यपूर्वका अमेरिकी सैन्य अड्डा र खाडी क्षेत्रका मुलुकबारे संकलन गरेका उपग्रह तस्वीर इरानलाई उपलब्ध गराइरहेको आरोप लगाएका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले हालै क्यास्पियन सागरमा रुसी युद्धपोत तथा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका जहाजलाई पनि निशाना बनाएको थियो ।

सामाजिक सञ्जाल एक्समार्फत उनले जुलाईको शुरूआतदेखि रुसले बहराइनका दुई, जोर्डनको एक र कुवेतको एक गरी चार अमेरिकी सैन्य हवाई अड्डाको उपग्रह निगरानी गरेको र ती तस्वीर पछि इरानमा पुगेको दाबी गरेका छन् ।

उनले रुसी उपग्रह तस्वीर संकलन र इरानद्वारा गरिएका आक्रमणबीच स्पष्ट सम्बन्ध देखिएको उल्लेख गर्दै ती तस्वीर आक्रमणको तयारी तथा क्षतिको मूल्यांकनका लागि प्रयोग भइरहेको आरोप पनि लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्