
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्न भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भनिएको छ ।
लुम्बिनीमा अहिले पनि एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन्, सत्ता साझेदार दलका रूपमा नेपाली कांग्रेस । तर शनिबार दुई दलबीच भएको सहमति अनुसार अब कांग्रेसको सरकार बाहिर पुगेको छ । लुम्बिनीमा एमाले-नेकपाले सत्ता साझेदारी गर्नेछन् ।
केन्द्रमा भएको सहमतिपछि लुम्बिनीमा एमालेले अहिलेकै मुख्यमन्त्री आचार्यलाई निरन्तरता दिन्छ कि नयाँ पात्र अगाडि सार्छ भन्ने चासोको विषय बनेको छ । यस विषयमा पार्टी केन्द्र केही टुंगो लगाएको छैन ।
एमालेमा अहिले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल मुख्यमन्त्री हुने चर्चा शुरू भएको छ । नेता ढकालले लुम्बिनीको मुख्यमन्त्रीको विषय पार्टीको केन्द्रीय नेतृत्वले टुंगो लगाउने बताए ।
तपाईं अबको मुख्यमन्त्री हो भन्ने चर्चा सुनिन्छ नि ? भन्ने प्रश्नमा ढकालले लोकान्तरसँग भने, ‘लुम्बिनी प्रदेशसभामा २९ जना एमालेका माननीयज्यूहरू हुनुहुन्छ । सबै मुख्यमन्त्री बन्न योग्य हुनुहुन्छ ।’
मुख्यमन्त्रीमा ढकालले दावेदारी पनि प्रस्तुत गरेका छन् । उनले एमाले पुर्नगठनको प्रदेशस्तरीय छलफलमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेर बोलेका थिए भने, मुख्यमन्त्री आचार्य बैठकमा सहभागी थिएनन् ।
अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्य ७ साउन २०८१ मा संसदीय दलका नेता लिला गिरीलाई पन्छाएर मुख्यमन्त्री बनेका थिए । दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका गिरी केन्द्रमा समीकरण फेरिएपछि तीन महिनामै मुख्यमन्त्रीबाट हट्न पुगेका थिए ।
सादगी नेता गिरीलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीमा अगाडि सारेर जानुपर्नेमा पक्षमा केही प्रदेश सांसद र केन्द्रीय नेताहरू पनि छन । तर, एमालेका प्रदेश सांसदबीच विगतमा जस्तो एकरूपता अहिले देखिएको छैन ।
एमालेको लुम्बिनी प्रदेश कमिटी बैठक आज (आइतबार) कपिलवस्तुको चन्द्रौटामा हुँदैछ । बैठकमा पार्टी महासचिव शंकर पोखरेल पनि सहभागी हुँदैछन् ।
मुख्यमन्त्रीको विषयले पनि बैठकमा प्रवेश पाउने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।
कांग्रेस सरकारबाट बाहिरिँदा लुम्बिनीमा एमाले र नेकपाको सरकार बन्न बहुमत पुग्ने अवस्था छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन् ।
तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका ३, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका दुई तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक सांसद छन् ।
कांग्रेसले सरकारबाट बाहिरिने विषयमा अझै टुंगो लगाएको छैन । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रको निर्णयका आधार अगाडि बढ्ने लोकान्तरलाई बताए । लुम्बिनी प्रदेश सरकारमा अहिले कांग्रेसका ५ जना मन्त्री छन् ।