
स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिन थालेको छ । ‘अप्रेसन ३६५’ अन्तर्गत समाजमा ध्वनि प्रदूषण गर्ने, सर्वसाधारणलाई त्रसित बनाउने र जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालिएको हो ।
गएराति पोखराका विभिन्न स्थानबाट त्यस्ता १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरेको आरोपमा यही साउन ७ गते ३३ र ६ गते १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको ‘अप्रेसन ३६५’ अन्तर्गत हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।
मोटरसाइकलका पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातिको समयमा ध्वनि प्रदूषण गर्ने तथा समाजको शान्ति–सुव्यवस्था खलबल्याउने गतिविधिबारे जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न गत वर्षदेखि ‘अप्रेसन ३६५’ सञ्चालन गरेको थियो ।
स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन र चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि जनाइएको छ।