
सुनसरीको देवानगन्जमा गएराति दुई समूहबीच भएको झडपको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएको छ । उनीहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयले उनीहरूको स्थानमा नयाँ सुरक्षा तथा प्रशासनिक नेतृत्वलाई जिम्मेवारी दिएको छ ।
मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ ।
यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौंमा तानिएको छ ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिई पठाइएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।
थेबेको स्थानमा सोही विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको कमान्ड सम्हाल्ने गरी खटाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालतर्फ पनि नेतृत्व परिवर्तन गरिएको छ । सशस्त्रका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय फिर्ता बोलाएर उनको स्थानमा एसपी लवकुमार सापकोटालाई पठाइएको छ ।
यसका साथै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाई उनको ठाउँमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो ।
उक्त घटनामा परी एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।
उक्त घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको अनुसन्धान गरी एक साताभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।
यसैबीच, घटनापश्चात् थप अशान्ति र समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु (निषेधाज्ञा) आदेश जारी गरेको छ ।