
काठमाडौं, ६ फागुन– इतिहासकै सबैभन्दा बढी (६४ सदस्यीय) मन्त्रिमण्डलको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका छन् । देउवाले राजीनामा दिएको घोषणा गरेको केही समयमै नयाँ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन् ।
ओलीले शुक्रवारै २ मन्त्रीलाई पनि शपथ ग्रहण गराएका थिए । एमाले र माओवादी केन्द्रको (वाम गठवन्धन)ले एक–दुई दिनमै नयाँ मन्त्रीको पनि टुंगो लगाउने तयारी गरेको छ । अबको एक सातामा मन्त्रिमण्डलले पूर्णता पाउने एमाले–माओवादीका नेताहरुको भनाइ छ ।
सिंहदवारमा नयाँ मन्त्रीको स्वागतका लागि विभिन्न मन्त्रालयका कर्मचारीहरु तयारी अवस्थामा छन् । तर गृह मन्त्रालयका कर्मचारीमा भने अलग्गै छटपटी छ, नयाँ मन्त्रीका लागि गाडी व्यवस्था गर्न ।
देउवा सरकारका ४४ जना मन्त्रीमध्ये अधिकांशले गाडी फिर्ता गर्न नमान्दा गृहका कर्मचारीहरु नयाँ मन्त्रीलाई कसरी सवारी साधनको व्यवस्था गर्ने भन्ने अन्यौलमा छन् ।
‘सवै निवर्तमान मन्त्री ज्यूहरुलाई शुक्रवार नै गाडी फिर्ता गर्न नोटिस दिइसकेका छौं,’ गृहमन्त्रालयका सह–सचिव इश्वर पौडेलले भने, ‘नोटिसमा ७ दिन भित्रको म्याद दिएका छौं । उहाँहरुले समयमै फिर्ता गर्नुभएन भने थुतेर पनि ल्याइन्छ ।’
मन्त्रीले प्रयोग गर्ने मुख्य (झण्डावाल) गाडीको व्यवस्थापन गृह मन्त्रालयले गर्छ । मन्त्रीले आफ्नो मन्त्रालयबाट समेत गाडी लिने गरेका छन् ।
‘आफ्नो मन्त्रालयबाट लिएका गाडीहरु उहाँहरुले मन्त्रालयमा नै फिर्ता गर्नु हुन्छ,’ सह–सचिव पौडेलले भने, ‘गृह मन्त्रालयले दिएको (झण्डावाल) गाडी अनिवार्य रुपमा गृह मन्त्रालयमा नै ७ दिनभित्र फिर्ता गर्नुपर्छ । नभए हामीले जहाँ भेट्टायो त्यतैबाट थुतेर ल्याउँछौं ।’
मन्त्रीको झण्डावाल गाडीमा गृह मन्त्रालयले नै खटाएका चालक हुने भएकाले निर्वातमान मन्त्रीले नचाहेमा पनि गाडी फिर्ता गर्न कुनै अप्ठेरो नभएको उनको भनाइ छ ।
मैल त फिर्ता गरिसके: केसी
निर्वतमा युवा तथा खेलकुद मन्त्री एवम् कांग्रेस नेता राजेन्द्र केसीले शुक्रवार नै गाडी फिर्ता गरिसकेको बताए । ‘अरुको थाहा भएन, मैले भने प्रधानमन्त्री ज्यूले राजीनामा दिएको दिन नै मन्त्रालयमा गाडी बुझाइ सकेको छु,’ केसीले लोकान्तरसँग भने, ‘अहिले क्वार्टरबाट घरमा सामान सार्दै छु । भोलि (सोमवार)सम्म घरमा सरिसक्छु ।’
कांग्रेस नेता केसीले पदबाट हटिसकेपछि गाडी ओगटेर बस्नु राम्रो नभएको पनि बताए । ‘पदबाट हटिसकेपछि गाडीको लोभ गर्नु राम्रो हैन,’ केसीले भने, ‘मन्त्री हुँदा प्रयोग गरेको गाडी सधैंभरिलाई पनि हैन ।’